आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगितामा दिलीप र विमा उत्कृष्ट

बिहीबार, १० फागुन २०८०, ०७ : ५६
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौंदीमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०’मा दिलीप थापा मगर र विमा अनुरागी उत्कृष्ट भएका छन् । प्रतिष्ठानको उपत्यका समन्वय समिति अन्तर्गतको बानेश्वर–कोटेश्वर समितिको तर्फबाट दिलीप र विमा सहभागी थिए । विजेता दिलीप र विमाले तीन लाख नगद राशिसहित शिल्ड प्राप्त गरे ।

त्यस्तै कोरिया शाखाको तर्फबाट प्रतिस्पर्धी तारा थापा र टेकराज भण्डारी दोस्रो र जापान शाखाको तर्फबाट प्रतिस्पर्धी निशान विश्वकर्मा र सपना रोका तेस्रो भए । दुवैले क्रममा दुई लाख र एक लाख नगद जिते ।

प्रतियोगितामा अनामनगर समितिको तर्फबाट प्रतिस्पर्धी विजय बानियाँ र सबिता परियारले ५० हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

४८ समुहमध्ये जुम्ला शाखाको तर्फबाट सहभागी गीता सेजुवाल उत्कृष्ट नव गायिका बन्न सफल भइन् भने पाल्पा शाखाको तर्फबाट सहभागी रबिन नेपाली उत्कृष्ट नव गायकको पुरस्कार चुम्न सफल भए । त्यसैगरी बसपार्क समिति रातोको तर्फबाट प्रतिस्पर्धी जमुना बिक उत्कृष्ट प्रतिभावान् गायिका बन्न सफल भइन् । त्यस्तै बसपार्क समिति सेतोको तर्फबाट सहभागी रत्न श्रेष्ठ र बागमती प्रदेशबाट सहभागी आशा केसीले उत्कृष्ट भेषभुषाको पुरस्कार चुम्न सफल भए । लुम्बिनीको तर्फबाट सहभागी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशील गायिका बन्न सफल भइन् भने उपत्यका समन्वय समितिको तर्फबाट सहभागी शर्मिला श्रेष्ठ र काठमाडौँ जिल्लाका अनिल सुनार उत्कृष्ट अनुशासित गायिका र गायकको पुरस्कार चुम्न सफल भए । सबै नगद १५ हजार पुरस्कारको रूपमा प्राप्त गरे ।

त्यस्तै बागलुङ जिल्लाशाखाको तर्फबाट सहभागी सुमन खड्का र सुनधारा समितिको तर्फबाट सहभागी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायक गायिकाको पुरस्कार चुम्न सफल भए । उनीहरुले २५ हजार नगदराशि सहितको पुरस्कार प्राप्त गरेका थिए ।

धादिङ जिल्लाको रोराङ–बेनीघाट गाउँपालिका वडा नं. ७ स्थित चरौंदीको मैदानमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता –२०८०’ फागुन ५ मा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन भएको थियो भने समापनमा नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती सहभागी थिए । प्रतिस्पर्धामा लोकदोहोरीको रौनकतामा रमाउने दर्शकहरूको बाक्लो घुइँचो नै लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप