सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा कार्यकारिणी समितिको बैठक सुरु

बिहीबार, १० फागुन २०८०, १३ : १४
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा सो पार्टीको कार्यकारिणी समितिको बैठक सुरु भएको हो । बैठकमा जेठमा हुने महाधिवेशनको तयारीलगायत अन्य समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।

महाधिवेशनको तयारीका लागि विभिन्न समिति, उपसमिति गठन गर्ने लगायतका विषयमा छलफल हुनुको साथै प्रतिवेदन लेखनको विषयमा छलफल हुने उनले बताए । फागुन २५ गतेसम्म सदस्यता वितरणको कार्यक्रम रहेको छ । सदस्यता वितरण तथा नवीकरणको अवस्था के छ त्यस विषयमा पनि विचार विमर्श हुने बताइएको छ ।

त्यसका साथै सत्ता गठबन्धन, सरकार सञ्चालन, समाजवादी मोर्चालगायतको विषयमा पनि छलफल हुने बताइएको छ । जसपाले २०८१ जेठ २८, २९ र ३० गते धनुषामा महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यसको तयारीमा जसपा नेपाल जुटिसकेको छ । महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गते देखि २०८१ वैशाख २० गते सम्म गरी सक्नु पर्ने जसपाले जनाएको छ ।

त्यसैगरी निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गते भित्र पठाइसक्नुपर्ने भनिएको छ । चैत १० गतेभित्र संसदीय निर्वाचन क्षेत्रअनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउनुपर्ने भनिएको छ ।

चैत १० गतेभित्र सङ्गठित पार्टी सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिन सकिने प्रावधान पार्टीले राखेको छ । राष्ट्रिय महाधिवेशनका लागि विधान अनुसार संसदीय निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरू निर्वाचनका लागि केन्द्रीय कार्यालयबाट निर्वाचन समिति गठन गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप