बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले के–के भने ?

बिहीबार, १० फागुन २०८०, १६ : ४३
बिहीबार, १० फागुन २०८०

ललितपुर । नेपाली कांग्रेस महासमिति बैठकमा प्रदेश सभापतिहरूले आ–आफ्नो धारणा राखेका छन् । 

बैठकमा बोल्दै कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराए । त्यसैगरी पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय उठेको पनि उनले जानकारी गराए ।  

सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यबाट पार्टी र देशको बारेमा चिन्ता र चासो आउनु राम्रो रहेको विषय उठेको जानकारी गराए । ‘यति धेरै चिन्ता र चासो आउनुस्, मुलुक राजनीतिक अप्ठ्यारोमा रहेको छ । विपक्षीबाट घेराबन्दीमा परेको बेला यो आउनु राम्रो हो,’ उनले भने । 

उनले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा नल्याएको भए देशको हालत के हुने थियो भने प्रश्न गरे । ‘देशको वस्तुस्थिति बुझेर वृहत् शान्ति सम्झौताको माध्यमबाट क्षति न्यूनीकरण भयो । जंगलमा रहेको माओवादीलाई संसदभित्र हामीले लगेको हो । कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्ताबेजको रूपमा दिएका छौँ । सदस्यको अभिव्यक्ति एक एक नीति र लक्ष्य बन्न सक्छ,’ उनले भने  । 

त्यस्तै, कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्ने बताए  ।  नीति प्रस्ताव अत्यन्तै समय सान्दर्भिक भएको र यसलाई इमानदारितापूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको जानकारी गराए । उनले गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार हुने बताए । ‘गठबन्धनभित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आयो । यो तत्कालीन समयले माग गर्ने विषय हो । अहिले नै गर्ने नगर्ने अलि हतार हो । तीनै प्रस्तावलाई चलायमान र गतिशील बनाउनुपर्छ,’ उनले भने । 

मधेस प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यहरुले निर्वाचनका क्रममा बढ्दो अन्तर्घात घटाउन सकेको पार्टी बलियो हुँदै जाने र टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त गरेको जानकारी गराए । 

त्यसैगरी कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेस प्रदेशका महासमिति सदस्यहरू उठाएको उनले जानकारी गराए ।  सभापति यादवले मधेसमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको पनि गुनासो आएको उनले जानकारी गराए । 

बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक जीवनका समस्याहरुलाई समाधान गर्न पहल गर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने र शिक्षा र स्वास्थ्यलाई निस्शुल्क गर्नुपर्नेलगायतका मागहरु उठेको जानकारी गराए ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहमा पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउनुपर्ने कुराहरु उठेको जानकारी गराए । 

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्‍नुपर्ने बारे जानकारी जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप