आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

सोमबार, १४ फागुन २०८०, १४ : ३३
सोमबार, १४ फागुन २०८०

सोल । दक्षिण कोरियामा यति बेला सुनी र सात राजकुमारी नाम गरेको एउटा र्‍याप समूह निकै चर्चित बनेको छ । रमाइलो कुरा चाहिँ के भने यो समूहका सबै सदस्य ७० र ८० वर्ष उमेर समूहका हजुरआमा हुन् । यो र्‍याप समूहले त्यहाँको मनोरञ्जन उद्योगमा तहल्का मच्चाइरहेको छ । यो समूहका सदस्यहरू दक्षिण कोरियाको उत्तरी प्रान्त ग्येओङसाङको ग्रामीण चिलगोक काउन्टीका हुन् । यो समूहले गएको वर्ष अगस्टमा मात्रै डेब्यू गरेको थियो ।

तर ६/७ महिनामै समूहको चर्चाले आकाश छोएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यो समूह बारम्बार छाइरहेका छन् । नक्कली कपाल लगाएर गलामा लामा सिक्री झुन्ड्याएर ग्रामीण जीवनशैलीबारे र्‍याप हान्दै हिँड्ने वयोवृद्धाहरु विरलै देख्न पाइन्छ । त्यसैले पनि यो समूह यति चर्चित बनेको हो । यो समूहमा ८ जना छन् । सबै सदस्यले किशोर हुँदा देखि नै एक अर्कालाई  चिनेका छन् ।

तर र्‍याप समूह बनाउने निर्णय भने गएको वर्ष मात्रै गरे । दुर्गम गाउँमा जन्मिएर हुर्किएकोले कसैले पनि बढ्ने मौका पाएनन् । सन् २०१६ मा मात्रै आठै जनाले कोरियाली वर्णमाला हाङगुल सिक्न थाले । एक दिन समूहकी ८१ वर्षकी अगुवा पार्क जेओम–सनले इन्टरनेटमा एउटा र्‍याप भिडियो देखिन् । अनि आफ्नो शिक्षकलाई र्‍याप गाएर देखाउन भनिन् । समूहले ग्रामीण जीवनशैलीबारे आफैँले गीत लेख्छ ।  

गीतहरू प्रायः खुर्सानी टिप्ने, बारीमा गएर खरबुजा टिपेर ल्याउने आदि बारे हुन्छन् । विद्यालयमा एक कार्यक्रममा गएको वर्ष समूहले पहिलो र्‍याप गाएको थियो । सबैले आधुनिक र्‍यापरहरुले लगाउने जस्तै हवार्लाङ लुगा र सिक्री लगाएका थिए ।  उनीहरूको र्‍याप दर्शकले निकै मन पराए । त्यसयता यो समूहले दक्षिण कोरियाको कयौँ स्थान र टिभी शोमा प्रस्तुति दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप