बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

त्रिभुवन विश्वविद्यालयका स्नातक तहका विद्यार्थी प्रयोगशाला बन्दै

चार वर्षे स्नातक तहलाई फेरि तीन वर्षे बनाउने चर्चा
शुक्रबार, १८ फागुन २०८०, १२ : १६
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहलाई चार वर्षेबाट तीन वर्षेमा झार्ने विषय चर्चामा छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहणसँगै स्नातकलाई तीन वर्षे बनाउने उद्घोष गरेका थिए ।

उनको उद्घोषपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । एकाथरीले यो विषय जायज भनिरहेका छन् भने अर्काथरीले त्यस्तो गर्न नहुने तर्क गरिरहेका छन् ।

मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको स्नातक तहका विद्यार्थीहरू यतिबेला चौथो वर्षको परीक्षा दिने तयारीमा छन् । यो संकायका विद्यार्थी पहिलो पटक चार वर्षे कोर्स पूरा गर्दै परीक्षाको तयारीमा छन् । थप तीन ब्याच चार वर्षे कोर्स पढिरहेका छन् ।

यो बाहेक अन्य संकाय पनि विगत लामो समयदेखि चार वर्षे बनाइएको थियो । विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको बेला विद्यार्थीलाई आकर्षित गर्न चार वर्षे कोर्सलाई तीन वर्षमा झार्ने उपकुलपति बरालको भनाइ हो ।

त्रिभुवन विश्वविद्यालयको स्नातक तह कति वर्षे बनाउने भन्ने विवाद नयाँ होइन । यसअघि पनि पटकपटक स्नातक तहका विद्यार्थीहरू प्रयोगशाला बन्दै आएका छन् ।

स्नातक तह चार वर्षे बनाएपछि विद्यार्थीको संख्या घट्दै गएको भन्दै एकेडेमिक इयर परिवर्तन गर्ने विषयमा त्रिभुवन विश्वविद्यालय भित्रै चर्चामा थियो । त्यही बेला नवनियुक्त उपकुलपतिले चार वर्षेबाट तीन वर्षे बनाइने बताएपछि यसले थप चर्चा पाएको हो ।

नेपालमा तीन वर्षे स्नातक तह पढेर विदेश जाने विद्यार्थीले स्नातकोत्तर तहमा भर्ना हुन नपाउने अवस्था थियो । त्यो समस्या समाधानका लागिसमेत स्नातक चार वर्षे बनाइएको र त्यसपछि विदेश पढ्न जाने विद्यार्थीले सिधै स्नातकोत्तर तह पढ्न पाउने गरेको त्रिभुवन विश्वविद्यालयको दाबी छ ।

स्नातक तहका विद्यार्थी बारम्बार बने प्रयोगशाला

त्रिभुवन विश्वविद्यालयमा २०५२ साल अघिसम्म स्नातक तह दुई वर्षे थियो । २०५३ सालदेखि २०७० सालसम्म स्नातक तहलाई तीन वर्षे बनाइएको थियो । २०७१ सालदेखि यसलाई चार वर्षे बनाइएको थियो ।

त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्र दाहालले तीन वर्षे कोर्स उपकुलपतिको भावी योजना रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर जान समय लाग्ने बताए । यसका लागि प्राज्ञिक परिषद्ले निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘आजको भोलि नै लागू हुन्छ भन्ने होइन,’ उनले भने ।

तत्कालीन उपकुलपति प्राडा हिराबहादुर महर्जनको पालादेखि स्नातक तहलाई चार वर्षे बनाउन थालिएको थियो । उनको पालामा केही संकाय चार वर्षे भएका थिए । यसपछि अर्का उपकुलपति प्राडा तीर्थराज खनियाको पालामा थप संकाय चार वर्षे बनेका थिए । त्यसपछिका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पालामा सबै संकाय चार वर्षे बनेको थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा पूर्व उपकुलपति प्राडा शिवलाल भुसालका अनुसार अन्तिममा मानविकी तथा सामाजिकशास्त्र संकाय चार वर्षे कोर्समा गएको थियो । उनी मानविकी संकायको डीन भएको बेला नै प्राज्ञिक परिषद्मा प्रस्ताव लगेर २०७४ सालदेखि स्नातक तह चार वर्षे बनाएका थिए । 

के छ यसको प्रक्रिया ?

त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्र दाहालले तीन वर्षे कोर्स उपकुलपतिको भावी योजना रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर जान समय लाग्ने बताए । यसका लागि प्राज्ञिक परिषद्ले निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘आजको भोलि नै लागू हुन्छ भन्ने होइन,’ उनले भने ।

दाहालका अनुसार सबैभन्दा पहिला त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले चार वर्षेबाट तीन वर्षे कोर्समा जाने भनेर निर्णय गर्नुपर्ने र त्यसपछि प्राज्ञिक परिषद्को निर्णय अनुसार सम्बन्धित विद्या परिषद्ले आवश्यक कोर्सको डिजाइन गरी पारित गर्नुपर्ने हुन्छ ।

विद्या परिषद्ले देशभरका विज्ञसँग व्यापक छलफल गर्ने, सबैको धारणा समेट्ने र त्यही आधारमा एउटा प्रतिवेदन तयार पार्छ । विद्या परिषद्को सिफारिसलाई प्राज्ञिक परिषदले अनुमोदन गरेपछि मात्रै नयाँ कोर्स लागु हुने सूचना अधिकारी दाहालले बताए ।

विगतमा कोर्सहरू डिजाइन गरेर लामो प्रक्रिया नै अपनाएर अघि बढेको पूर्व शिक्षाध्यक्ष प्राडा भुसालले बताए । त्यो बेला अन्तर्राष्ट्रिय रूपमा पनि चार वर्षे कोर्स चलिरहेको आधारमा नेपालमा पनि त्यसको अवधारणा आएको उनको भनाइ छ ।

पढाइको गुणस्तर बढाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने, अन्तर्राष्ट्रियस्तरमा नेपालीहरूलाई समेत प्रतिस्पर्धी बनाउन सकिने जस्ता कारणले कोर्स चार वर्षे बनाइएको थियो । अहिले सबैमा एकरूपता ल्याउन घटाउनुपर्ने अवस्था देखिएको सूचना अधिकारी दाहालले बताए ।

‘विदेशमा कतिपय तीन वर्षे कोर्स पनि छन्, कतिपय चार वर्षे छन् । सबै किसिमका विद्यार्थीले अध्ययन गर्न पाउन् भन्ने हो,’ दाहालले भने, ‘विद्यार्थीले पढाइसँगै आम्दानी गर्न पाउन् भन्ने उपकुलपतिज्यूको सोच हो ।’

बजारमा के को डिमाण्ड छ ? कस्तो खालको विद्यार्थी बजारले मागेको छ भन्ने जस्ता विषयलाई ध्यान दिएर यो सोच आएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको चार वर्षे स्नातक कार्यक्रमले विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डीन प्राडा चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न माग गरेका थिए । उनले गत असार १४ गते बसेको प्राज्ञिक परिषदमा लिखित प्रस्ताव नै लगेका थिए ।

शिक्षा शास्त्र संकायको प्राविधिक विषयबाहेक अन्यमा स्नातक कार्यक्रम तीन वर्षमा झार्न उनको माग थियो । विश्वविद्यालयले कार्यान्वयनमा ल्याएको चार वर्षे स्नातक कार्यक्रमहरू शिक्षा शास्त्र संकायमा साढे पाँच वर्षमा पनि पूरा हुन नसकेको बताउँदै यसले विद्यार्थीका लागि बोझ थपेको तर्क उनले गरेका थिए ।

शिक्षा शास्त्र संकायको आइटी, विज्ञानबाहेकका सबै कार्यक्रममा चार वर्षे स्नातकमा भर्ना हुनेको संख्या घट्दै गएको भन्दै बुढाथोकीले विद्यार्थीको रुचि लामो समयावधिको कोर्समा कम भइरहेको बताएका थिए । उनको प्रस्तावमाथि अन्य संकायका डीनले समेत सहमति जनाएका थिए ।

विद्यार्थीलाई प्रयोगशाला बनाइयो  

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्राडा खगेन्द्र लामिछानेले स्नातक तहलाई प्रयोगशाला बनाउन खोजेको आरोप लगाए । ‘हामीले पढ्दा स्नातक २ वर्षे थियो । त्यसपछि तीन वर्षे, त्यसपछि चार वर्षे बनाइयो । अहिले फेरि तीन वर्षे बनाउने कुरा चलिरहेको छ । यो त प्रयोगशाला नै बन्यो । यस्तो गर्नु हुँदैन,’ उनले भने ।

पूर्व उपकुलपति प्राडा तीर्थराज खनियाले आफ्नो पालामा सबै कोर्सलाई एकरूपता ल्याउन खोजेको बताए । ‘कुनै कोर्स ५ वर्षे, कुनै चार वर्षे थिए । कुनै कोर्स तीन वर्षे थिए । सबैमा एकरूपता ल्याउनुपर्छ भनेर केही कोर्स चार वर्षे बनाएका थियौँ,’ खनियाले भने ।

पूर्व योजनाबिना कोर्सहरू घटाउँदा वा बढाउँदा समस्या हुन सक्ने उनको तर्क छ । त्यसका लागि प्लानिङ गरेरमात्रै अघि बढ्नुपर्ने उनले बताए । गणित विभागका पूर्व डीन प्राडा टंकनाथ धमलाले एउटा व्यक्ति तथा उपकुलपतिलाई लागेको भरमा कुनै पनि निर्णय गर्न नहुने बताए ।

‘एउटा व्यक्ति, उपकुलपतिले भनेर हुने होइन । यसमा निकै बहस हुनुपर्छ । के कारणले चार वर्षेमा समस्या भयो ? किन तीन वर्षेमा फर्किनु प¥यो ? लगायतका विषयमा व्यापक छलफल हुनुपर्छ । यसका सबै पक्षको विश्लेषण गरेरमात्रै टुङ्गोमा पुग्नुपर्छ । यो विषयमा कसैलाई लाग्यो भन्दैमा गर्नु हुँदैन,’ धमलाले भने ।  

तीन वर्ष बनाउन खोजिएको सम्बन्धमा आफूले कुनै तर्क नदेखेको धमलाको भनाइ छ । ‘धेरैजसो देशमा चार वर्षे डिग्री थियो । नेपालमा तीन वर्षेमात्रै थियो । त्यो बेला चार वर्षे ठिक हो भन्ने लागेर ल्याइएको थियो । अहिले फेरि तीन वर्षे बनाउँछौँ भनिरहेका छन् । पर्याप्त छलफल र प्रतिवेदन नभइ हतारमा निर्णय गर्नु त्यति उचित देखिँदैन,’ उनले भने ।

पूर्व उपकुलपति प्राडा तीर्थराज खनियाले आफ्नो पालामा सबै कोर्सलाई एकरूपता ल्याउन खोजेको बताए । ‘कुनै कोर्स ५ वर्षे, कुनै चार वर्षे थिए । कुनै कोर्स तीन वर्षे थिए । सबैमा एकरूपता ल्याउनुपर्छ भनेर केही कोर्स चार वर्षे बनाएका थियौँ,’ खनियाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप