सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

महत्वपूर्ण खेलमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

शुक्रबार, १८ फागुन २०८०, १३ : ०७
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एकसय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको हो ।

फाइनलमा पुग्ने आशा कायम राख्न जित्नै पर्ने दबाबमा रहेको नेपालका लागि कुशल मल्लले अर्धशतकीय पाली खेले । उनले अविजित ५५ रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३७ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए ।

१९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् ।

कुशल मल्लाका अतिरिक्त नेपालका लागि आरिफ शेखले पनि ३१ रनको योगदान गरे । गुलसन झाले पनि २६ रन बनाए ।

ओपनर अनिल साहले २३ रन बटुले । दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । नेपालले अतिरिक्त रुपमा पनि आठ रन पायो । नामिबियाका बलर बेन सिकोंगोले तीन विकेट लिए ।

ज्याक ब्रासेलले पनि दुई विकेट हात पारे । रुबेन ट्रम्पलम्यान, जन निकोल लफ्टी एटन र बेनार्ड स्कोल्जले एक–एक विकेट लिए ।

नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

आसिफलाई नामिबियाका बलर बेन सिकोंगोले बोल्ड गरेका थिए । दोस्रो ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले केवल पाँच रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी नौ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल साहलाई गुमाएको थियो । उनी १७ बलमा तीन चौकाको मद्दतले २३ रन बनाउँदै आउट भएका थिए ।

अनिललाई नामिबियाका बलर जन निकोल लफ्टी एटनले विकेटकिपर जेन ग्रिनद्वारा क्याच गराएका थिए । सातौँ ओभरमा अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५८ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए । ७.२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख ३१ रन बनाउँदै आउट भएका थिए । उनले २४ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले जन फ्राइलिंकद्वारा क्याच गराएका थिए । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४९ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द्र आठ बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनलाई बेन सिकोंगोले एलबीडब्लूको धरापमा पारेका थिए ।

१८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको थियो । नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो ।  उनी तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई सिकोंगोले एटनद्वारा क्याच क्याच गराएका थिए ।

१९ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ७५ रन बनाएको थियो । नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो ।  उनी तीन बलमा दुई रन बनाउँदै आउट भएका थिए । उनलाई नामिबियाका बलर ट्रम्पलम्यानले सिकोंगोद्वारा क्याच गराएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७८ रन बनाएको थियो ।

जारी शृंखलामा नेपाल र नामिबिया दुबैले आफ्नो तेस्रो खेल खेलेका हुन् । नेपाल यसअघि आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो ।

नामिबियाले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । नामिबिया आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । शृंखलामा तेस्रो टोलीको रुपमा सहभागी नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । त्यसैले नेपालले जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न शुक्रबारको खेलमा नामिबियालाई हराउनैपर्ने हुन्छ ।

प्रतियोगिताको लिग चरणमा तीनवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् ।

जारी शृंखलामा नेपालले आफ्नो अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबिच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल भने मंगलबार खेलिने छ । निकट भविष्यमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप