आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यका लागि हानिकार छन् बिहानका यस्ता बानी, आजैदेखि सुधार्नुस्

शुक्रबार, १८ फागुन २०८०, १४ : २६
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । दिनचर्या स्वस्थ छ भने तपाईँले धेरै प्रकारका रोगहरूबाट बच्न सक्नु हुनेछ । खास गरी बिहान उठ्ने बित्तिकैका केही बानीबारे हामी सबै सतर्क हुन जरुरी छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो स्वास्थ्य र उत्पादकत्वमा देखिन्छ । स्वास्थ्य विज्ञहरू भन्छन् बिहानको बानी राम्रा छन् भने सारा दिन राम्रो अनि ऊर्जाले भरिपूर्ण हुन्छ । बिहानका केही बानीले दिमागलाई सकारात्मक र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विशेष योगदान पुर्‍याउन सक्छ ।

जीवनमा स्वास्थ्यलाई प्राथमिकता दिनु महत्त्वपूर्ण छ र यसका लागि तपाईँले बिहान राम्रा बानीहरू अपनाउनु महत्त्वपूर्ण भएको पोषणविद्हरू पनि भन्छन् । बिहान सबेरै उठ्नेदेखि खानपानमा केही परिवर्तन हेरफेर स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक हुन सक्छ । सबै मानिसले स्वस्थ दिनचर्या पालना गर्नु जरुरी छ । तपाईँका पनि यस्ता खराब बानीहरू छन् भने अहिले नै त्याग्ने निर्णय गर्नुस् ।

अलार्म बारम्बार स्किप गर्ने

बिहान सबेरै ओछ्यानबाट उठ्नु हामी मध्ये धेरैका लागि सबैभन्दा गाह्रो काम हुन सक्छ । के तपाई पनि एक क्षण भएपनि सुत्ने हो भन्दै प्रायः बिहानको अलार्म स्किप गर्न बारम्बार स्नुज बटन थिचिरहनु हुन्छ ? यदि हो भने तुरुन्तै यो बानी सुधार्नुस् । अलार्म स्नुज गरिरहँदा बिहान सबेरै उठ्ने बानी प्रभावित हुन सक्छ । बिहान सबेरै उठ्नु हाम्रो शारीरिक र मानसिक स्वास्थ्य दुवैको लागि राम्रो हुन्छ भनेर अध्ययनहरूले पनि देखाएका छन् ।

चिया वा कफीबाट दिनको सुरुवात नगर्ने

चिया र कफीमा क्याफिन पाइन्छ ।  यसले तपाईँलाई केही समयको लागि ऊर्जा त दिन्छ, तर बिहान खाली पेटमा वा धेरै मात्रामा क्याफिनको सेवन गर्दा धेरै प्रकारका साइड इफेक्ट निम्तन सक्छ । धेरै मात्रामा क्याफिनको सेवन गरियो भने निद्रामा खलल उत्पन्न  गराउँछ । चिन्ता र मुड स्विङजस्ता समस्या निम्त्याउन सक्छ । यसबाहेक क्याफिनको उच्च सेवनले मुटुको स्वास्थ्यमा पनि प्रतिकूल असर पार्न सक्छ।

बिहानको खाजा नछाड्ने

बिहानको खाजा नखाँदा तौल घटाउन मद्दत गर्छ भन्ने धेरैको विश्वास छ । तर वास्तवमा यो बानीले फाइदा होइन हानि गर्छ । बिहानको खाजा नखाँदा उल्टै मोटोपना, मधुमेह र मुटुसम्बन्धी समस्याको जोखिम बढ्छ । बिहान उठेको २ घण्टाभित्र ब्रेकफास्ट खानु पर्छ भन्ने केही अध्ययनले पनि देखाएका छन् । बेलुकाको खाना खाएपछि ९–१० घण्टासम्म हाम्रो पेटमा केही पनि गएको हुन्न । यस्तोमा बिहान नास्ता वा ब्रेकफास्ट नगर्दा शरीरमा कमजोरी हुन सक्छ । शरीरलाई स्वस्थ राख्नको लागि पौष्टिक नास्ता खानु सबैभन्दा महत्त्वपूर्ण बानीमध्ये एक हो ।

व्यायामको लागि समय ननिकाल्नु

गतिहीन जीवनले रोगहरू बढाउने विभिन्न अनुसन्धानमा पाइएको छ । तपाईँ पनि बिहान व्यायाम गर्नुहुन्छ भने यसले शरीरलाई ऊर्जा दिन्छ र मस्तिष्कमा खुसीको हर्मोन बढाउँछ । तर व्यायाम नगर्दा हृदयाघात, स्ट्रोक र श्वासप्रश्वासमा समस्या, ओस्टियोपोरोसिसका साथै तौल बढ्ने र मोटोपनजस्ता रोगको जोखिम बढ्छ । स्वस्थ रहनका लागि हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलापका लागि समय निकाल्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप