बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी पदाधिकारीका कारण भ्रातृ संस्थाभित्र अन्यौलता देखियो : नैनसिंह महर

शनिबार, १९ फागुन २०८०, १३ : २८
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा सुभेच्छुक संस्थाको जिवन्तताको लागि मूल नेतृत्वका रुपमा रहेका पदाधकारी जिम्मेवार देखिएको बताएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय समितिको फागुन १५ गते बैठकका लागि काठमाडौँमा बोलाइएका केन्द्रीय सदस्यहरू आजसम्म पनि बैठक बस्न नसकेपछि शनिबार बिहान महरको सिचवालय बानेश्वरमा गुनासो गर्न  पुगेका थिए ।

संघका केन्द्रीय नेताहरु छलफल गर्दै महरले पाँचजना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या सिर्जना भइरहेको बताएका हुन् । ‘पार्टी शीर्ष नेतृत्वको जिम्मालिएकाहरुको फाईदाका लागि युवा विद्यार्थीहरु लाई गुट र उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएको र अहिले सम्म नेविसंघको बैठक बस्न सकेको छैन, । भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न नसकेन, भ्रातृसंस्था क्रियाशील हुन सकेका छैनन्।

पार्टीका विभाग गठन हुन सकेका छैनन्। पार्टीको विधान कार्यान्वयन हुन सकेको छैन,’ उनले भने। व्यक्तिगत लेनदेनका लागि पदाधिकारीहरूले जस्तो सुकै सम्झौता गर्ने र आम कार्यकर्ता, आमजनता, पार्टीको जिवन्तता र पार्टीलाई जनतासँग जोड्ने सवालमा क्रियाशील नदेखिनु चिन्ताको विषय भएको उनले बताए।

‘महासमिति बैठकको प्रस्ताव लेखनका लागि संयोजक तोकियो। प्रस्ताव लेखनका लागि समिति निर्माण गर्ने भन्ने थियो। समिति निर्माण नगरेरै र केन्द्रीय समितिका साथीहरू तथा आम कार्यकर्तासँग समन्वय नगरेरै एकै पटक प्रस्ताव केन्द्रीय समितिमा लगियो। त्यसरी आएको प्रस्ताव परिमार्जनसहित पास गरियो भनियो। महासमितिको हलमा जाँदा प्रस्ताव व्यक्तिगत तवरले प्रस्तुत गरियो। यद्यपी त्यो केन्द्रीय समितिको थियो,’ महरले भने ।

महासमिति बैठक लगत्तै नेविसंघले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा सबैको सहयोग हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै असन्तुष्टि जनाए। उनले १५ फागुनका लागि तय भएको बैठक विभिन्न गुट र उपगुटका कारण प्रभावित भइरहेको टिप्पणी गरे।

कांग्रेसका मुल पदाधिकारीहरू र मुख्य प्रतिस्पर्धी नेता शेखर कोइरालालगायतले प्रशिक्षणात्मक मन्तव्य दिएर बैठक अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा त्यो तदारुकता कसैमा नदेखिएको बताए। ‘बैठकलाई अगाडि बढाएर शीर्ष नेताहरूले नेविसंघको गति, नेविसंघले खेल्नुपर्ने भूमिका, यसका कामको महत्त्वलगायत विषयमा संवाद गरिनुपर्थ्यो। त्यो हुन सकेन। देशभरबाट आएका केन्द्रीय सदस्यहरू चार दिनदेखि काठमाडौंमा अलपत्र हुनुहुन्छ,’ उनले भने। यस्तो हुँदा पार्टीमा युवाले भविश्य नदेख्ने र युवा आकर्षण कम हुनेतर्फ नेतृत्व चिन्तित हुनुपर्ने महरको धारणा छ। 

व्यक्ति बलियो बन्न, गठबन्धन बलियो बनाउन, पद प्राप्त गर्न र गुट बलियो बनाउन नेताहरु चनाखो देखिए पनि आम जनता र कांग्रेसको भविश्यका बारेमा चिन्तित नदेखिनु चिन्ताको विषय भएको महरले बताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप