सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा आगलागी नियन्त्रणको पूर्वअभ्यास

शनिबार, १९ फागुन २०८०, १३ : ५५
शनिबार, १९ फागुन २०८०

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा रहेको टुँडिखेलमा आगलागीका घटना न्यूनीकरण गर्न कृत्रिम घटना सृजना गरी नियन्त्रणको पूर्वअभ्यास गरिएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसले संयुक्तरुपमा ‘डेमो’ प्रदर्शन गरेका हुन् ।

हावाहुरीको समय भएकाले आगलागीका घटना हुन सक्ने हुँदा यसबाट बच्ने उपायसहित पूर्वअभ्यास गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रतितसिंह राठोरले बताए । अर्घाखाँचीमा गत वर्ष ४२ स्थानमा आगलागी भएको थियो । एक हजार ६६ हेक्टर जङ्गलमा आगलागी हुनाका साथै आगलागीमा परी गत वर्ष पाँचजनाले ज्यान गुमाएका प्रनाम राठोरले बताए ।

घटना नदोहोर्याउन, भइहाले कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमान परिचालन गर्ने, अपुग सामग्रीको व्यवस्थापन गर्नेलगायत विषयको पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूूर्वअभ्यास कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । टुँडिखेल मैदानमा आगलागीसम्बन्धी डेमो प्रदर्शन गरिएको भन्दै यो विपद् नियन्त्रणका लागि फलदायी अभ्यास भएको उनको भनाइ छ ।

कृत्रिम भए पनि घटनालाई वास्तविक जस्तै बनाइएको थियो । घटनामा तीनवटै सुरक्षा निकाय, रेडक्रस, र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेको उपचारको व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसालले बताए । तराई, पहाड तथा सहरी क्षेत्रमा आगलागीको जोखिम भएकाले स्थानीयलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अर्घाखाँचीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप