सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

कर्णाली सरकारको नेतृत्वमा राजकुमारकै निरन्तरता कि एमाले ?

सोमबार, २१ फागुन २०८०, १३ : २६
सोमबार, २१ फागुन २०८०

सुर्खेत । केन्द्रको सत्ता गठबन्धनमा फेरबदल भएसँगै कर्णालीमा पनि त्यसको ‘साइट इफेक्ट’ पर्ने निश्चितजस्तै छ । ८ सदस्यीय मन्त्रिपरिषद रहेको कर्णालीमा नेपाली कांग्रेसले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको छ ।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । समीकरण बदलिएसँगै कांग्रेसका मन्त्रीहरु सरकारबाट बाहिरिने अवस्थामा पुगेका छन् ।

कांग्रेसले सरकार छाडेको खण्डमा कर्णालीमा नेकपा एमाले र माओवादी मिलेर सहज रुपमा सरकार बन्न सक्छ । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्छ । यहाँ माओवादी केन्द्रका १३ र एमालेका १० सांसद छन् ।

यसअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सहकार्यका सरकार बनेको थियो । यहाँ एकीकृत समाजवादीको एक र राप्रपाको पनि एक सांसद छन् । यस्तै कांग्रेसका १४ सांसद छन् । स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको कारबाही फुकुवा भएसँगै उनलाई पनि गणना गर्दा कांग्रेसका सांसद संख्या १५ हुन्छ ।

कांग्रेस, राप्रपा र समाजवादी एक ठाउँमा आउँदा पनि सरकार बनाउन आवश्यक बहुमत जुट्न सक्दैन । त्यसैले केन्द्रमा गठबन्धन फेरिएसँगै नयाँ गठबन्धनबाटै कर्णालीमा सरकार बन्ने निश्चित छ ।

यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चासो बढेको छ । सरकारका प्रवक्ता एवम् कानुन मन्त्री कृष्णबहादुर जिसी अन्त जे भए पनि कर्णालीमा माओवादीले नै सरकारको नेतृत्व गर्ने बताउँछन् ।

सिट संख्या

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म त केही कुरा भएको छैन, यहाँ सत्तारुढ दलहरुबिच पनि कुनै विवाद छैन । पहिलो कुरा त प्रदेशको हकमा निर्णय गर्ने अधिकार प्रदेशलाई दिनुपर्छ । यदि नगरेको खण्डमा पनि कर्णालीमा माओवादी नै सरकारको नेतृत्वमा रहन्छ ।’

०७९ पुसमा राजकुमार शर्मा मुख्यमन्त्री बन्दै गर्दा पनि एमाले–माओवादीबिच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । तर, केन्द्रमा समीकरण बदलिएसँगै एमाले सरकारबाट बाहिरिएको थियो भने कांग्रेस भित्रिएको थियो ।

अहिले फेरबदल भएको समीकरण अनुसार पनि सम्भवतः डेढ वर्ष राजकुमार शर्मा नै मुख्यमन्त्री कायम रहन्छन् । त्यसपछि मात्रै एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुला हुने छ । तर, एमालेका सांसद भने पहिलो चरणमा एमालेले नेतृत्व पाउनुपर्ने बताइरहेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई कर्णालीमा राजकुमार शर्मा नेतृत्वको सरकार असफल भइसकेकाले एमालेले सरकारको नेतृत्व गरी विकास निर्माणमा अग्रसर हुनुपर्ने बताउँछन् ।

‘कर्णालीमा एमालेले नेतृत्व गर्न पाइरहेको छैन,’ उनले रातोपाटीसँग भने, ‘यहाँ हामीले भनेरमात्र हुँदैन, केन्द्रबाटै एक किसिमको सहमति गरेर कर्णालीको नेतृत्व एमालेलाई दिनुपर्छ भन्ने हो ।’

उनले भनेजस्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले यसअघि नै कर्णालीमा माओवादी–कांग्रेस असफल भइसकेकाले अब एमालेले सरकारको नेतृत्व पाउनुपर्ने बताउँदै आइरहेका छन् । ‘यो कुरा एमाले प्रदेशले भनेर मात्र हुँदैन,’ कँडेलको भनाइ छ, ‘माओवादी र हाम्रै पार्टीको केन्द्रले पनि बुझ्नुपर्छ । हामीसँग कर्णाली बदल्ने भिजन, योजना छ ।’

तर, माओवादीका नेताहरु भने एमाले–माओवादी मिलेर जानु परे पनि नेतृत्वमा माओवादीको विकल्प नरहेको दाबी गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप