शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बहिनीलाई पास गराउन दाजु प्रहरी बनेर परीक्षा हलमा गएपछि....

मङ्गलबार, २२ फागुन २०८०, ०७ : २६
मङ्गलबार, २२ फागुन २०८०

नयाँ दिल्ली । भारतमा प्रहरीहरूले प्रहरी पोसाकमा एक पुरुषलाई पक्राउ गरेका छन् । आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा गएपछि प्रहरीले २४ वर्षका अनुपम मदन खन्दारेलाई समातेका हुन् । यो घटना महाराष्ट्रको हो । फेब्रुअरी २१ मा भारतको महाराष्ट्रमा उच्च माध्यमिक बोर्डको परीक्षा सुरु भएको थियो ।

राज्यको पतुर सहरस्थित शाहबाबु उर्दु उच्च विद्यालयमा परीक्षा चलिरहँदा खन्दारे प्रहरी पोसाकमा छिरे । ती युवक परीक्षामा चिट चोर्नबाट रोक्न होइन आफ्नी बहिनीलाई चिट चोराउन गएका थिए । एक दिन प्रहरी पोसाकमा आँखा गएपछि उनको दिमागमा प्रहरीको भेष बनाएर परीक्षा हलमा जाने ‘आइडिया’ आएको थियो । तर स्थिति उनले सोचेजस्तो भएन ।

खन्दारे परीक्षा हलमा त सजिलै छिरे । बहिनीलाई चिट चोर्न सहयोग गर्न लागेकै थिए । सक्कली प्रहरीको टोली परीक्षा हलमा टुप्लुक्क आइपुगे । सक्कली प्रहरीको टोलीलाई देखेपछि खन्दारेले सलाम ठोके । तर उनको अप्ठ्यारो हाउभाउले शङ्का उत्पन्न गरायो । सक्कली प्रहरीको टोलीले २४ वर्षीय युवकको पोसाक नियाले ।

यस क्रममा पोशाकमा टाँएिको नेम प्लेट नै अशुद्ध पाए । उनको पोसाकको स्तर पनि शङ्का उब्जाउने खालको थियो । प्रहरीहरूले खन्दारेलाई केरकार गरे अनि उनको बगली चेक गर्न थाले । चेकजाँचका क्रममा उनको बगलीबाट एक मुठ्ठी चिट निस्कियो । प्रहरीहरूले उनलाई हिरासतमा राखेका छन् । सरकारी कर्मचारीको भेष धरेको भन्दै अभियोग पनि चलाएका छन् । भारतमा बेला बेलामा यस्ता खालको उटपट्याङ हर्कतहरु आइरहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप