बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा आइफोनको बिक्री एक चौथाइले घट्यो

बुधबार, २३ फागुन २०८०, ११ : ०८
बुधबार, २३ फागुन २०८०

बेइजिङ । चीनमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको आइफोन बिक्रीमा उच्च कमी आएको छ । गएको वर्षको सोही अवधिको तुलनामा सन् २०२४ को पहिलो ६ हप्तामा चीनमा आइफोनको बिक्री २४ प्रतिशतले घटेको बजार अनुसन्धानकर्ता संस्था काउन्टर प्वाइन्टले बताएको छ ।

स्थानीय स्मार्टफोन निर्माता कम्पनीहरूबाट चीनमा एप्पलले कडा प्रतिस्पर्धाको सामना  गरिरहेका बेला बिक्री घटेको हो । गएको वर्षको सोही अवधिमा १९ प्रतिशत रहेको बजार हिस्सा समीक्षा अवधिमा घटेर १५ दशमलव ७ प्रतिशतमा झरेको छ । योसँगै चीनको स्मार्टफोन बजारमा दोस्रो स्थानबाट ओर्लिएर एप्पल चौथो स्थानमा समेटिएको छ । चीनमा बिक्री घट्न थालेपछि गएको महिना कम्पनीले पहिलो पटक छुटमा आइफोन बेचेको थियो ।

समीक्षा अवधिमा घरेलु बजारमा हुवावेईको बिक्री ६४ प्रतिशतले बढेको छ । यस विषयमा बीबीसीले राखेको जिज्ञासामा एप्पल र हुवावेई दुवैले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । हुवावेईको तीव्र बजार विस्तारबिच ओप्पो, भिभो र साओमीको आक्रामक मूल्य नीतिका कारण पनि एप्पल चपेटामा परेको काउन्टर प्वाइन्टका मेङमङ चाङले एक विज्ञप्तिमा भनेका छन् । चीन एप्पलको सबैभन्दा ठुलो बजारमध्ये  एक हो ।

सोही अवधिमा समग्रमा स्मार्टफोन बिक्री ७ प्रतिशतले घटेको थियो । अमेरिकाले लगाएको प्रतिबन्धका कारण हुवावेईले कयौं वर्षसम्म सङ्घर्ष गर्नुपरेको थियो । तर अगस्टमा मेट सिरिजको ५ जी स्मार्टफोन ल्याएपछि कम्पनीको बिक्री बढिरहेको छ । अमेरिकाले ५ जी मोबाइल इन्टरनेटका लागि चाहिने मुख्य चिप र प्रविधिहरूमा पहुँच बन्द गरेको भए पनि हुवावेईको बिक्री बढ्नुलाई धेरैले अचम्म भनेका छन् । समीक्षा अवधिमा भिभो, साओमी र ओप्पोको बिक्री भने घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप