सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

नुवाकोटका तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी

बुधबार, २३ फागुन २०८०, १५ : ५२
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नुवाकोटका सांसद एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका छन् । यसअघिको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भाँडिएर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र  जनता समाजवादी पार्टी (जसपा)सहितको चार दलीय गठबन्धन बनेसँगै माओवादी कोटाबाट तामाङले पुनः मन्त्री बन्ने अवसर पाएका हुन् । 

यसअघि तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बन्नेका थिए ।

२०८० फागुन २१ गते सत्ता समीकरण फेरिएर नयाँ गठबन्धन बनेलगत्तै तीन मन्त्रीको शपथमा तामाङ पनि परेका थिए । सत्ता समीकरण राजनीतिक भागबण्डाका आधारमा गठबन्धनले बुधबार मन्त्रालय बाँडफाँड गरेसँगै प्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिचाइ, सूचना तथा सञ्चार र संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय माओवादीको कोटामा परेको हो । जसमध्ये यसअघि पनि पार्टीले नै नेतृत्व गरेको पर्यटन मन्त्रालय तामाङको भागमा परेको छ । यसअघि सुदन किरातीले यस मन्त्रालयको नेतृत्व गरेका थिए । 

मन्त्री तामाङको राजनीतिक यात्रा

विस. २०२० मा नुवाकोट जिल्लाको पञ्चकन्यामा जन्मिएका तामाङ सोही क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । मध्यम वर्गीय निम्न वर्ग किसान परिवारमा जन्मिएका तामाङले २०३९ सालमा एसलएसी उत्तीर्ण गरेका छन् । एसएलसी दिएलगत्तै २०४० मा गाउँकै थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष अध्यापन गरेका तामाङ २०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका थिए । 

२०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका तामाङले २०६८ सालमा नुवाकोट जिल्ला समिति सचिव पदको जिम्मेवारी सम्हालेका थिए भने २०४७ सालमा तामाङले औपचारिक रूपमै पार्टीको सदस्यता लिएका थिए । 

२०४८ मा एकता जिल्ला सम्मेलन पछि जिल्ला उपाध्यक्ष, २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य, २०४९ सालमा पार्टीको पूर्णकालीन भएर आफ्नो जीवन पार्टीमा समर्पित गरेका थिए । 

२०५१ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य बनेका तामाङ २०५२ मा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेसँगै भूमिगत राजनीति सुरु गरेका थिए । 

पार्टीमा क्षेत्रीय ब्युरो सदस्य, रसुवा–नुवाकोट जिल्ला इन्चार्ज हुँदै २०५९ सालमा तामाङ पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । सोही दौरानमा भूमिगत राजनीति गर्दैगर्दा तामाङ देशद्रोहीको अभियोगमा २०५९ जेठ २० गते गिरफ्तार परे । २५ महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका तामाङले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि तीव्र आरोह अवरोहको सामना गरेका छन् । 

२०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बनेका तामाङ संविधान सभाको पहिलो निर्वाचनमा तत्कालीन नुवाकोट क्षेत्र नं. २ निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा झिनो मतले पराजित भएका तामाङ २०७४ मा पनि झिनो मतान्तरले पराजित भएका थिए । तर, पछिल्लो निर्वाचन, २०७९ मा  नुवाकोट क्षेत्र नं. १ बाट उठेका तामाङले बाजी मारेर प्रतिनिधि सभा सदस्यमा आफ्नो सिट सुरक्षित गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप