हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म

समाचार सारांश
- हेटौंडामा वडा अध्यक्ष, व्यवसायी, पत्रकार र चिकित्सकमाथि शृङ्खलाबद्ध आक्रमण भएका छन्, जसले त्रासको वातावरण सिर्जना गरेको छ।
- वडा अध्यक्षमाथि कार्यकक्षमा आक्रमण भएको थियो, जसमा जग्गा विवादको आशंका गरिएको छ, भने व्यवसायीमाथि सार्वजनिक स्थलमा कुटपिट भएको थियो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, तर सुरक्षा व्यवस्था फितलो देखिएको छ, र प्रमुख जिल्ला अधिकारीले सुरक्षा चुनौती बढेको स्वीकार गरेकी छिन्।
मकवानपुर । पछिल्लो समय हेटौंडासहित मकवानपुरको सुरक्षा व्यवस्था फितलो देखिएको छ ।
हेटौंडा उपमहानगरपालिकामा पछिल्ला दिन एकपछि अर्को सुरक्षाजन्य घटनाले आक्रान्त बन्दै आएको छ । हेटौंडामा हालै वडा अध्यक्ष, व्यवसायी, पत्रकार तथा चिकित्सकमाथि शृङ्खलाबद्ध रूपमा आक्रमणका घटना भएका छन् ।
प्रदेश राजधानीसमेत रहेको हेटौंडामा शान्ति सुरक्षालाई चुनौती दिँदै भएका यस्ता घटनाले त्रासको वातावरण सिर्जना गरेको छ ।
घटना–१ः कार्यकक्षमै कुटिए वडा अध्यक्ष न्यौपाने
असार ४ गते बुधबार हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि कार्यालयभित्रै आक्रमण भयो । दिउँसो ३ः५० बजेतिर कार्यकक्षमै बसेका न्यौपानेलाई दुई मोटरसाइकलमा आएका ४ जना अपरिचित युवाको समूहले कालो मोबिल छ्यापेर हातपात गरे ।
घटनामा न्यौपानेको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनापछि हमलाकारी फरार भएका थिए । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार वडा अध्यक्ष न्यौपानेमाथिको हातपातको घटनाबारे अनुसन्धान जारी छ । सीसीटीभी फुटेज विश्लेषण गरेर घटनामा संलग्नहरूको पहिचान गर्ने काम भइरहेको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार भूमिहीन सुकुम्बासीको व्यवस्थापनसँग सम्बन्धित जग्गा विवादले अध्यक्ष न्यौपानेमाथि आक्रमण भएको हुन सक्छ । उक्त घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उपमहानगरपालिकाले कार्यपालिकाबाट निर्णय गरेर विज्ञप्तिसमेत जारी गरेको छ ।
उता सो घटनाको विषयमा अध्यक्ष न्यौपाने आवद्ध पार्टी नेपाली कांग्रेसका जिल्ला, प्रदेशदेखि शीर्ष नेतृत्वले समेत दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । मकवानपुर जिल्लामा क्रियाशील ७ राजनीतिक दलले समस्या समाधानको वैकल्पिक उपाय भौतिक आक्रमण नभएको प्रस्ट पार्दै सो कार्य लोकतन्त्रप्रतिको अवमूल्यन भएको ठहर गरेका छन् । दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै समस्या समाधानको विकल्प संवाद र समझदारीलाई उपहास गरी जनप्रतिनिधिमाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
घटना–२ः सार्वजनिक स्थलमा व्यवसायीमाथि आक्रमण
गत साता प्रहरी कार्यालयकै सामुन्ने एक व्यवसायीमाथि निर्घात कुटपिट भयो । सो घटनामा पनि प्रहरी प्रशासन निरीह बनेको थियो ।
हेटौंडा–१० स्थित राप्तीरोडमा रहेको ‘दास इम्पोरियम’ का सञ्चालक विन्दल दासमाथि एक समूहले आक्रमण गरेर घाइते बनाएको थियो । ३ वटा मोटरसाइकलमा आएका ८÷९ जनाको समूहले दासमाथि सार्वजनिक स्थानमै कुटपिट गरेका थिए । घटनामा दासको टाउकोमा चोट लागेको थियो । उनी हेटौंडा अस्पतालमा उपचाररत छन् ।
उक्त घटनामा संलग्न रहेकामध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।
घटना–३ः प्रहरी कार्यालयभित्रै पत्रकारलाई धम्की
२०७९ मंसिरमा जिल्ला प्रहरी कार्यालय परिसरभित्रै पत्रकारमाथि आक्रमण तथा अभद्र व्यवहार हुँदासमेत प्रहरी मौन देखिएको थियो ।
घटना–४ः डाक्टरमाथि आक्रमण
२०८० भदौमा हेटौंडा–१ स्थित सञ्चो अस्पताल प्रालि.मा कार्यरत २ डाक्टरमाथि कुटपिट हुँदा पनि प्रहरीको भूमिका प्रभावकारी देखिएको थिएन । अस्पतालमा कार्यरत डा. विकास थापा र हेटौंडा अस्पतालका डा. प्रशान्त विडारीमाथि एक समूहले आक्रमण गरेको थियो । उक्त घटनापछि डा. थापाले हेटौंडा नै छाड्नु परेको थियो भने डा. विडारी सरकारी अस्पताल हेटौंडा अस्पतालमा सेवारत छन् ।
मकवानपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले पछिल्लो समय देशभर नै सुरक्षा चुनौती बढेको बताइन् । सुरक्षा चुनौती बढ्नु वा घट्नु परिस्थितिजन्य ‘स्वाभाविक’ अवस्था रहेको उनको भनाइ छ ।
प्रहरी प्रशासनले शान्ति सुरक्षाका लागि गम्भीरताका साथ काम गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । जिल्लामा भएका घटनाहरूलाई विश्लेषण गरी दोषी र अपराधीहरूलाई पक्राउ गर्ने काम जारी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै