स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन

समाचार सारांश
- स्वास्थ्य मन्त्रालयले काज र सरुवा भएका तर रमाना नलिई बसेका कर्मचारीलाई तोकिएको दरबन्दीमा हाजिर हुन निर्देशन दिएको थियो।
- मन्त्रीको निर्देशनलाई उच्च तहका कर्मचारीले अवज्ञा गरेपछि मन्त्रालयले एक महिनाभित्र व्यवस्थापन गर्ने नयाँ समयसीमा तोकेको छ।
- मन्त्रालयका अनुसार, राजनीतिक पहुँचका कारण कर्मचारीहरूले सरुवा भएर पनि रमाना लिन आनाकानी गरिरहेका छन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा र सरुवा भएर पनि रमाना नलिई बसेका कर्मचारीलाई तीन दिनभित्र तोकिएको दरबन्दीमा हाजिर हुन दिएको निर्देशन कार्यान्वयनमा असफल देखिएको छ ।
मन्त्री प्रदीप पौडेलको निर्देशनलाई उच्च तहका कर्मचारीहरूले नै अवज्ञा गरेपछि मन्त्रालयले अब उनीहरूलाई एक महिनाभित्र व्यवस्थापन गर्ने नयाँ समयसीमा अघि सारेको छ ।
मन्त्रालयले जेठ २८ गते एक सूचना जारी गर्दै दरबन्दीबाहिर कार्यरत र सरुवाको रमाना नलिने कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको थियो ।
निर्देशन अटेर गरे तलबभत्ता असुल गरी विभागीय कारबाही गर्ने चेतावनी दिइए पनि कार्यान्वयन भने हुन सकेन ।
यो निर्देशनले मन्त्रालय र यस अन्तर्गतका विभागहरूमा काजमा रहेका करिब साढे ३ सय कर्मचारीमा हलचल ल्याए पनि राजनीतिक पहुँचका आधारमा माथिल्ला तहका कर्मचारीहरू ‘टसमस’ भएका देखिएनन् ।
‘यस्ता निर्देशन तल्लो तहका कर्मचारीलाई मात्र लाग्छ, माथिका पहुँचवालाहरूलाई छुँदैन,’ मन्त्रालयमा कार्यरत एक कर्मचारीले भने, ‘उनीहरू सरुवा लिइसकेर पनि रमानाका लागि आनाकानी गरिरहेका छन् ।’
उनका अनुसार मन्त्रालयमा मात्रै करिब एक सय र विभागअन्तर्गत राजधानीका विभिन्न अस्पतालमा साढे २०० यस्ता कर्मचारी दरबन्दीबाहिर कार्यरत छन् । मन्त्रालयकै उच्च अधिकारीहरू मन्त्री परिवर्तन हुनासाथ आफूनिकट कर्मचारीलाई काजमा तान्ने प्रवृत्ति छ । यसले पनि समस्या निम्त्याएको उनी बताउँछन् ।
स्वास्थ्य सेवा ऐन २०५३ विपरीत कर्मचारी तानेर महत्त्वपूर्ण महाशाखा र अस्पतालको नेतृत्वमा वर्षौँदेखि राजनीतिक पहुँचका आधारमा रजगज चल्दै आएको छ । यसरी कर्मचारी तान्दा विशेषज्ञताको समेत ख्याल नगरिएको पाइएको देखिन्छ । ‘हाडजोर्नी विशेषज्ञलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा तानिन्छ,’ ती कर्मचारीले भने, ‘यो प्रवृत्ति मन्त्रालय र महाशाखाहरूमा व्याप्त छ ।’
को–को छन् दरबन्दी बाहिर ?
मन्त्रालयमा दरबन्दीबाहिर काम गर्ने उच्च तहका कर्मचारीहरूको लामो सूची छ । कान्ति बाल अस्पतालमा दरबन्दी भएका ११औँ तहका डा. कृष्णप्रसाद पौडेल हाल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख छन् ।
त्यसैगरी वीर अस्पतालमा दरबन्दी रहेका ११औँ तहका रेडियोलोजिस्ट डा. सरोज शर्मा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुखका रूपमा कार्यरत छन् ।यस्तै १०औँ तहका डा. पुष्पराज पौडेल, डिल्लीराज आचार्य, सन्तोष मानन्धर, विमला नापित, रोहित घिमिरेलगायत कर्मचारीहरू पनि अन्यत्र दरबन्दी भएर मन्त्रालयमा काजमा तानिएका छन् ।
इपिडिमियोलोजी प्रमुख डा. रुद्र मरासिनी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख केशवराज पण्डितलगायत विभागका विभिन्न शाखामा कार्यरत साढे २०० कर्मचारी काज र सरुवा भई रमाना नलिने सूचीमा छन् ।
के भन्छ मन्त्रालय ?
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीन दिनभित्र कर्मचारी फिर्ता गर्न निर्देशन दिइए पनि तत्काल कार्यान्वयन गर्न व्यावहारिक रूपमा कठिनाइ भएको बताए । आर्थिक वर्षको अन्त्यमा कर्मचारी तुरुन्तै फिर्ता गर्दा अस्पतालको सेवा र बजेट खर्चमा असर पर्ने उनको भनाइ थियो । र चरणबद्ध रूपमा व्यवस्थापन गर्ने योजना बनाइएको उनले बताए ।
‘पहिलो चरणमा सरुवा भएर पनि रमाना नलिएकालाई पठाइनेछ,’ डा. बुढाथोकीले भने, ‘त्यसपछि बाहिर दरबन्दी राखेर काठमाडौँमा काम गर्नेलाई फिर्ता गरिनेछ र अन्त्यमा खाली दरबन्दी खोजेर मिलान गरिनेछ ।’
उनले दरबन्दीबाहिर काम गर्ने प्रवृत्ति अन्त्य गर्दै अबको एक महिनाभित्र सबै कर्मचारीलाई तोकिएको स्थानमा हाजिर गराउने प्रतिबद्धता व्यक्त गरे ।