शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सा प्रहरीले चिहान उत्खनन् गरेर निकाल्यो १२ वर्षीय बालकको शव

शुक्रबार, २५ फागुन २०८०, १५ : ४४
शुक्रबार, २५ फागुन २०८०

बीरगन्ज । पर्सा प्रहरीले चिहान उत्खनन् गरेर १२ वर्षीय बालकको शव निकालेको छ । प्रहरीले ती बालकको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि चिहानबाट शव निकालेको हो ।

प्रहरी स्रोतका अनुसार बीरगन्ज महानगरपालिका–१२ निवासी शम्भु महतोले १२ वर्षीय छोरा दिलीप मण्डललाई कोठामा थुनेर राखेका थिए । थुनेकै अवस्थामा दिलीपले आत्महत्या गरेको बताइन्छ ।

अभिभावकले सुटुक्क शव लगेर गाडेपछि प्रहरीले घटनाका बारेमा जानकारी पाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार विक्रम थापाले चिहानबाट बालकको शव निकालिएको पुष्टि गरे । उनका अनुसार वीरगन्जको सिर्सिया नदी छेउ ती बालकको शव गाडिएको थियो ।

उनका अनुसार शव गाडिएको सूचना आएपछि पर्सा प्रहरीको टोलीले बिहीबार राति घटनास्थलमा पुगेर शंकास्पद शव निकालेको हो ।

प्रहरीको टोलीले बालकको शव अन्दाजी दुई फिट गहिरो खाल्डोमा गाडिएको अवस्थामा निकालेको हो । प्रारम्भिक अनुसन्धानमा बालकको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको प्रहरीको भनाइ छ ।

यद्यपि, शवलाई पोष्टमार्टमका लागि भने नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आइसकेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

प्रहरीले अनुसन्धानका लागि मृतक बालकका बुबा शम्भु र आमा सवितादेवीलाई नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक सोधपुछमा उनीहरुले लागु औषध दुर्व्यसनमा लागेका कारण आफूहरुले छोरालाई घरमै थुनेर राखेको तर त्यही रिसले छोराले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने बयान दिएको प्रहरी स्रोतको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप