बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘नोस्टाल्जिक’ बने विनोद चौधरी : वाईवाई चाउचाउ सुरु गर्नुअघि बनाएका थिए चलचित्र ‘वासुदेव’

शनिबार, २६ फागुन २०८०, १२ : २१
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । नेपालका अर्वपति व्यापारीको रूपमा परिचय बनाएका विनोद चौधरीको परिचय त्यतिमा मात्रै सीमित छैन । प्रतिनिधिसभाका सांसद समेत रहेका चौधरी नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील छन् । चर्चित चाउचाउ ब्रान्ड ‘वाईवाई’ले चौधरीलाई नाम र दाम दुवै दिएर माथि पुर्‍याइरहेको छ । 

व्यापार, राजनीतिमा सफलता पाउनुअघि २६ वर्षको कलियो युवा समयमै उनले नेपाली चलचित्र निर्माणमा लगानी गरेका थिए । आजभन्दा ४० वर्षअघि अर्थात २०४० सालमा चर्चित उपन्यासकार डा.ध्रुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’ उपन्यासमा आधारित भएर उनले चलचित्र वासुदेव निर्माण गरेका थिए । 

सो चलचित्रमा हरिहर शर्मा, नीर शाह, कृष्ण मल्ल, शर्मिला मल्ल, शकुन्तला शर्मा, सुभद्रा अधिकारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो ।  चलचित्रमा पटकथा लेखन र निर्देशन भने निर शाहले गरेका थिए । चलचित्रको सम्पादन तुलसी घिमिरेले गरेका थिए ।

वसन्तजंग रायमाझी नृत्य निर्देशक थिए भने चलचित्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत समावेश गरिएको थियो । देवकोटाको गीतका अलवा चलचित्रमा नीर शाह र हरिवंश आचार्यले पनि गीत लेखेका थिए । चलचित्रका गीतमा उदीतनारायण झा, दीपा झा, रविन शर्माको आवाज रहेको थियो भने सबै गीतमा रणजित गजमेरको संगीत रहेको थियो । 

फोर्ब्स पत्रिकाले अर्बपतिको सूचीमा राखेका चौधरीले सो चलचित्र निर्माण गरेपछि अन्य चलचित्र निर्माणमा भने हात हालेनन् ।  व्यापारिक दृष्टिकोणले मनग्ये पैसा कमाउन नसके पनि चर्चित नेपाली चलचित्र मध्येभित्र पर्छ ‘वासुदेव’ । 

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा उही पुरानो चलचित्र वासुदेवमा समेटिएको मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य सहितका कलाकारको ‘कमेडी’ को एक टुक्रा दृश्य राख्दै उनले आफ्ना पुराना कुराहरूको स्मरण गरेका छन् । जहाँ उनले वाईवाई चाउचाउ उद्योग खोल्नुअघि नै चलचित्र वासुदेव बनाएको र त्यसमा झन्डै १२ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । त्यो समयमा १२ लाख रुपैयाँले काठमाडौँमा ५–६ रोपनी जग्गा किन्न सकिने अवस्था रहेको तर चलचित्रले मुनाफा नकमाए पनि त्यसले दिएको आत्मसन्तुष्टि ठुलो रहेको उल्लेख गरेका छन् ।  

चौधरीले फेसबुकमा लेखेका छन्– ‘केही समय पहिले एक जना मित्रले कति व्यापारको तनाव लिनुहुन्छ यसो रमाइलो गर्नुस् भनेर यो क्लिप पठाउनुभएको थियो, समय व्यस्तताले गर्दा हेर्ने अवसर प्राप्त गरेको थिएन । आज यो हेरे, निक्कै रमाइलो लाग्यो । यो त मैले २६ वर्षको उमेरमा २०४० सालमा बनाएको वासुदेव फिल्मको दृश्य पो रहेछ । ओहो त्यो बेला, वाईवाई को फ्याक्ट्री खुलेकै थिएन । नीर शाहज्यूले ध्रुवचन्द्र गौतमज्यूको कट्टेल सरको चोटपटक भन्ने उपन्यासमा आधारित फिल्म बनाउन खोज्नुभएको रहेछ ।

मलाइ पनि जोडिन आग्रह गर्नुभयो । त्यो बेला वर्षमा एक दुई नेपाली फिल्मभन्दा बन्दैन थियो । मैले पनि हुन्छ भनेर १२ लाख लगानी गरेको थिए । त्यो बेला सो रकम एकदम ठुलो थियो मेरो लागि । त्यति रकमले  त्यो समयमा काठमाडौँमा ५–६ रोपनी जग्गा नै आउँथ्यो । त्यो फिल्मले खासै पैसा कमाएन तर  त्यो पैसा भन्दा त्यो फिल्मले दिएको आत्मसन्तुष्टि छुट्टै छ । त्यो बेलादेखिको साथी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अहिले पनि पारिवारिक साथीको रूपमा हामी जोडिएको छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप