शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि...

शनिबार, २६ फागुन २०८०, २० : २८
शनिबार, २६ फागुन २०८०

कास्की । पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ । विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो ।

एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए ।

कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उनले परिवारसँग सल्लाह गरे । तीन छोरी र दुई छोराका बाबु लामिछानेको कलेजो प्रत्यारोपणका लागि परिवारमा छोरा–बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आश मारिसकेका थिए ।

अन्तिममा उनकी जेठी छोरी पोखरा–३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको रक्तसमूह मिलेर प्रत्यारोपण गर्न मिल्ने भयो । त्यसका लागि रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जनाले बाबुको जीवन बचाउन जोखिम उठाइन् र आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार भइन्।

साहसपूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो रोगका कारण थलिएर जीवनमरणको दोसाँधमा उभिएका लामिछानले छोरीले कलेजो दिएपछि पुनर्जीवन पाएका छन् । छोरी रञ्जनाले आफ्नो कलेजो दिन तयार भएकी र अहिले बाबुछोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताए ।

“बुबाको कलेजो प्रत्यारोपण गर्नु नै थियो, तर मिलिरहेको थिएन, त्यसले गर्दा बुवालाई बचाउन सकिँदैन कि भनेर हामी चिन्तित थियौँ”, सुशीलले भने, “अन्तिममा दिदीले दिन मिल्ने भएपछि कलेजो सफलतापूर्वक प्रत्यारोपण भएको छ, अहिले बुवा र दिदी दुवै जना स्वस्थ हुनुहुन्छ, कुनै समस्या छैन ।”

आफ्नो कलेजो बुवासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना पनि खुसी छिन् । बाबुआमाका लागि जस्तोसुकै अप्ठ्यारो र दुःखमा साथ दिनुपर्ने छोराछोरीको कर्तव्य आफूले पूरा गर्न पाउँदा धेरै खुसी लागेको दिदीले भनेको सुशीलले बताए । दिदीलाई एक हप्ता र बुवालाई दुई हप्ताजति अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप