सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले दिएको धोकाको जवाफ दिइन्छ : उपसभापति खड्का

आइतबार, २७ फागुन २०८०, १५ : ३५
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदातालाई धोका दिएको बताएका छन्। 

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले प्रचण्डले निर्वाचनका बेला जनतासँग गरेका बचन विपरीत गठबन्धन फेर्ने काम गरेको बताए।

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रूपमा ठुलो धोका भएको छ,’ उनले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले दिनेछ।’

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। ‘कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्ट्रिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला,’ उनले भने, ‘तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उहाँले दिनुपर्छ।’

संविधानको रक्षाका लागि विचार मिल्ने राजनीतिक शक्तिहरू प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको उनको भनाइ थियो । ‘संविधानलाई सही दिशामा ल्याउनका लागि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा विचार मिल्ने पार्टीहरूको सडक आन्दोलन र संवैधानिक सङ्घर्षमार्फत संसद्लाई पुनर्स्थापित गर्दै ती उद्देश्यमा सहमत भएका दलबिच राजनीतिक गठबन्धन गरिएको थियो,’ उनले भने।

यस्तै खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको शीर नझुक्ने गरेर काम गरेको बताए। ‘११ महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ,’ उनले भने, ‘बाँकी कुराहरू समय क्रममा राख्दै जाउँला।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप