केनले तोडे आफ्नै कीर्तिमान, अंक दुरी घटाउँदै बायर्न म्युनिख
काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलको शनिबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले सजिलो जित हात पारेको छ । आफ्नो पछिल्लो खेलमा बायर्न म्युनिखले अंक तालिकाको अन्तिम स्थानमा आसिन डार्मस्टाडलाई ५–२ गोलले हराएको हो ।
जितसँगै बायर्न म्युनिखले लिड लिडर बायर लेभरकुजेनसँगको अंक दुरी पनि घटाएको छ । उक्त खेलमा बायर्न म्युनिखका स्टार खेलाडी ह्यारी केनले ब्यक्तिगत कीर्तिमान पनि बनाएका थिए । भ्रमणकारी टोली बायर्न म्युनिखले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो ।
खेलमा सुरुआत अग्रता भने डार्मस्टाडले लिएको थियो । खेल सुरु भएको २८औँ मिनेटमै डार्मस्टाडका लागि टिम स्कार्कले पहिलो गोल गरेका थिए । तर, डार्मस्टाडको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ३६औँ मिनेटमै बायर्न म्युनिखका लागि जमाल मुसलालाले जवाफी गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले बायर्न म्युनिखको अग्रता दोब्बर बनाएका थिए । केनले जारी सिजनको बुन्डेस लिगामा गरेको यो ३१औँ गोल हो । केनले आफ्नो पछिल्लो गोल हेडमार्फत गरेका थिए ।
केन दोस्रो हाफको अन्तिम समयमा परिवर्तित खेलाडीका रुपमा मैदानबाट बाहिरिएका थिए । केनले युरोपियन लिगको एउटै सिजनमा गरेको यो सर्वाधिक गोल हो । यसअघि उनले टोट्टनहामबाट खेल्दा दुई सिजन इङ्लिस प्रिमियर लिगमा ३०–३० गोल गरेका थिए ।
निर्धारित समयको ६४औँ मिनेटमा जमालले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेका थिए । ७४औँ मिनेटमा सर्जी गनाब्रीले बायर्न म्युनिखका लागि चौथो गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा म्याथिज टेलले बायर्न म्युनिखका लागि पाँचौँ गोल गरेका थिए ।
इन्जुरी समयको पाँचौँ मिनेटमा डार्मस्टाडका लागि ओस्करले दोस्रो गोल फर्काएका थिए । तालिकाको पहिलो स्थानमा आसिन बायर लेभरकुजेनले २५ खेलबाट ६७ अंक जोडेको छ । दोस्रो स्थानमा आसिन बायर्न म्युनिखले २६ खेलबाट ६० अंक बटुलेको छ । डार्मस्टाड भने २६ खेलबाट १३ अंक जोड्दै तालिकाको अन्तिम स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण