आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा आजदेखि चौबिसै घण्टा खुल्ने

आइतबार, ०४ चैत २०८०, १६ : ११
आइतबार, ०४ चैत २०८०

पोखरा । औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा भएको पोखरा अब चौबिसै घण्टा खुल्ने भएको छ । पोखरामा रहेका सबै पर्यटकीय गतिविधि चौबिसै घण्टा खुला राख्ने निर्णय भएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

राजधानी घोषणाको समयमा सम्बोधन गर्दै उनले निश्चित मापदण्ड बनाएर लेक साइड, पृथ्वीचोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका रेस्टुरेन्ट, बार, स्पा, किराना र खाजा पसलहरू १ बजेसम्म निर्बाध चल्न दिइने बताए । 

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको सुरक्षा समितिको बैठकले पोखरालाई सधैँ खुला राख्ने निर्णय गरेको थियो । तर चौबिसै घण्टा चल्नका लागि पहिला जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । सुरक्षाको पूरै ग्यारेन्टी भएपछि मात्रै त्यस्तो अनुमति दिइने प्रशासनले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार १ बजेसम्म चल्ने र पूरै रात चल्ने व्यवसायको प्रकृति छुट्ट्याइएको छ । खाना, खाजा खुवाउने होटल र चिया पसल लगायत १ बजेसम्म चल्छ भने दोहोरी, डिस्को, पव लगायत व्यवसाय पुरै रात खुला हुन्छ । तर त्यसका लागि अनुगमन समितिले सिफारिस दिनेछ । 

‘उहाँहरूले निवेदन दिनुहुन्छ । त्यही निवेदनअनुसार आवश्यक पूर्वाधार र सुरक्षा प्रबन्ध भए नभएको हेरेर समितिले अनुमति दिन्छ,’ क्षेत्रीले भने, ‘खासगरी ध्वनी प्रदूषण नहुने र सुरक्षाको प्रत्याभूति हुने ग्यारेन्टी व्यवसायीले लिनुपर्छ ।’ केही व्यवसायीले यसअघि नै निवेदन दिएका छन् भने केहीले दिने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप