सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवासँग राप्रपा नेता थापाको भेट

आइतबार, ०४ चैत २०८०, १९ : १८
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । बागमती प्रदेश सरकारको सत्ता समीकरण सङ्कटमा परिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान देउवा निवास बूढानिलकण्ठमा उनीहरूबिच भेटवार्ता भएको हो ।

प्रदेश सरकार गठन र समय सामयिक राजनीतिका विषयमा देउवा र नेता थापाबिच छलफल भएको थियो । कांग्रेस बागमती प्रदेशका सांसदहरूको पहलमा नेता थापा देउवा निवास पुगेका थिए ।

भेटमा देउवाले प्रदेश सरकारको नेतृत्व र सञ्चालनका सवालमा एकजुट भएर अघि बढ्न नेता थापालाई आग्रह गरेका थिए । बदलिएको राजनीतिक परिस्थितिमा कांग्रेस र राप्रपा एक भएर सरकारको नेतृत्व गरेर अघि बढ्न देउवाले प्रस्ताव गरेका थिए । राप्रपाले उठाएका मागका केही विषयहरूमा कांग्रेसले सहकार्य गर्न सक्ने र केही विषयहरू फरक ढङ्गबाट अघि बढाउन सकिने भएकाले सहकार्यमा सहजता मिल्ने देउवाको भनाई थियो ।

देउवाको प्रस्तावमा राप्रपा संसदीय दलका नेता थापाले सकारात्मक प्रतिक्रिया दिएका थिए । देउवासँगको भेटमा नेता थापाले पार्टी नेतृत्वसँग छलफल गरेर सहकार्यका लागि वातावरण बन्न सक्ने बताएका थिए । प्रदेश सरकारको सवालमा केन्द्रको भन्दा फरक अवस्था हुने हुँदा सोही अनुसार कांग्रेसले केन्द्रबाटै पहल थाल्न नेता थापाले आग्रह गरेका थिए ।

नेता थापाको आग्रह पछि देउवाले पार्टी केन्द्रमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग राप्रपाका मागका सन्दर्भमा छलफल भइरहेको र त्यसतर्फ आफू सकारात्मक रहेको बताएका थिए ।

प्रदेश सरकारलाई निकास दिन्छौँ : नेता थापा

नेता थापाले बागमती प्रदेशलाई मध्यावधिमा जानबाट राप्रपाले रोक्ने दाबी गरे । प्रदेशका नागरिकहरू अहिले चुनाव नचाहिरहेको अवस्थामा राप्रपा मध्यावधि हुनबाट रोक्ने मनस्थितिमा रहेको उनले बताए ।

तत्काल सरकारमा जाने कुनै योजना नभएपनि प्रदेश सरकारलाई अनिर्णयको बन्दी राप्रपाले नबनाउने उनले बताए । पछिल्ला समयमा प्रदेशका सानादेखि ठुला दलहरू सरकारका विषयलाई लिएर सक्रिय बनिरहेको र सोही अवस्थामा सभापति देउवासँग भेट भएको उनको भनाई छ । सत्ता गठबन्धन दलदेखि साना दल तथा कांग्रेससँग पनि प्रदेश सरकारका विषयमा निरन्तर छलफल भइरहेको उनले बताए । ती छलफलबाट प्रदेश सरकारको नेतृत्व, समीकरण लगायतका विषयमा निष्कर्ष भने निस्कन नसकेको उनले बताए ।

उनका अनुसार देउवासँगको भेटमा राप्रपाको माग र प्रदेश सरकारको विषयमा छलफल भएको छ । प्रदेश सरकार गठन गरेरअघि बढ्ने अवस्थामा राप्रपा नरहेपनि राजनीतिक अस्थिरता टार्ने भूमिका निर्वाह हुने उनको भनाई छ । प्रदेशका सबै दलहरूसँग राप्रपाले समान दुरी कायम गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप