शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक व्यापार

‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै

मङ्गलबार, ०६ चैत २०८०, १८ : ०५
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा पनि वैदेशिक व्यापारमा सुधार नआएको तथ्याङ्क प्रकाशित भएको छ । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्मको अवधिमा पनि नेपालको वैदेशिक व्यापार (आयात–निर्यात)मा सुधार नदेखिएको हो । यो अवधिमा वैदेशिक व्यापारतर्फ आयात र निर्यातसँगै वैदेशिक व्यापारसमेत घटेको छ ।

विभागका अनुसार ८ महिनाको अवधिमा नेपालमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको आयात भएको छ । यस्तै, नेपालबाट १ खर्ब ६ करोड १७ लाख रुपैयाँको निर्यात भएको छ । यस अवधिमा आयातमा २.६६ प्रतिशत र निर्यातमा ३.९९ प्रतिशतको गिरावट आएको विभागको तथ्याङ्कमा देखिएको छ । गत वर्षको ८ महिनाको अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो ।

यसबाहेक, आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालबाट १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । यो चालू वर्षको सोही अवधिमा भएको निर्यातको तुलनामा ४ अर्ब ७९ करोडले बढी हो । आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार नै खुम्चिएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोडमा झरेको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा २.७८ प्रतिशतले न्यून हो । गत आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा ११ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । कोरोना महामारीको समयमा गरिएको बन्दाबन्दीपछि खुलेको बजारमा अत्यधिक माग बढेको थियो । २०७६ सालको अन्तिमदेखि सुरु भएको बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि गत आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी आयात भएको थियो ।

सरकारको प्रतिबन्धका बाबजुद उक्त आर्थिक वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको आयात भएको थियो । जबकि, आर्थिक वर्ष २०७७/७८ को वर्षभरिमा १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जुन, गत वर्षममा २४.७२ प्रतिशतले बढ्न पुग्यो । गत आर्थिक वर्षमा एकाएक सुन्निएको वस्तुको आयात बिस्तारै ‘साइज’ आउन थालेको हो । यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब ११ अर्ब रुपैयाँको आयात भएको थियो । जुन, १६ प्रतिशतको गिरावट हो ।

  • २ खर्ब ७० अर्ब भन्सार राजश्व

८ महिनाको अवधिमा १० खर्ब ३० अर्ब रुपैयाँको वस्तु आयात हुँदा २ खर्ब ७० अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको छ । विभागका अनुसार साउनदेखि फागुनसम्मको अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको हो । यो गत आर्थिक वर्ष २०७९/८० कोभन्दा बढी हो । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा २ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको थियो । जबकि, गत आर्थिक वर्षमा १० खर्ब ५८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । तथ्याङ्कले गत आर्थिक वर्षको तुलनामा आयात घट्दा समेत भन्सार राजश्व भने बढेको देखाउँछ ।

१५८ देशसँग व्यापार, २८ वटासँग मात्रै नाफा

यो अवधिमा नेपालले विश्वका १५८ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ८ महिनाको अवधिमा विश्वका डेढ सयभन्दा बढी मुलुकसँग व्यापार गर्दा २८ वटासँग मात्रै नाफामा छ । यसबाहेक, अन्य सबैजसो मुलुकसँगको व्यापारमा नेपालले घाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप