शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

एक गल्ती, चार अप्रेसन

पाठेघरको शल्यक्रिया गर्दा मूत्रनली काटिएको उजुरी मेडिकल काउन्सिलमा
बुधबार, ०७ चैत २०८०, १२ : २६
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका चिकित्सकले पाठेघरको शल्यक्रिया गर्दा मूत्रनली काटिदिएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ ।

गोदावरी नगरपालिका–३, कैलालीकी ४२ वर्षीय कमलादेवी कैनीकी छोरीले उपचारमा लापरबाही भएको भन्दै दिएको उजुरीको प्रारम्भिक छानबिन सकिएको छ । प्रारम्भिक प्रतिवेदनबारे काउन्सिल बोर्डको पूर्ण बैठकबाट निर्णय हुन बाँकी छ । निर्णय नभएसम्म छानबिनको प्रारम्भिक प्रतिवेदनबारे केही बताउन नमिल्ने काउन्सिलका रजिष्ट्रार डाक्टर सतिश कुमार देवले रातोपाटीलाई बताए ।

कमलादेवी भने आफूमाथि अन्याय भयो भन्दै हारगुहार माग्दै हिँडेको अवस्था छ । यही चैत ४ गते उनी निवेदन बोकेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा पुगेकी थिइन् ।

उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरी क्षतिपूर्ति समेत भराई पाउँ भन्ने व्यहोराको निवेदन दर्ता गर्न पुगेकी कमलादेवीलाई कार्यालय प्रमुख सन्देश श्रेष्ठले उपचारमा लापरबाही भएको प्राविधिक विषयमा तत्काल फौजदारी कसुर अन्तर्गत मुद्दा दर्ता हुन नसक्ने जानकारी दिए । उनले कानुनी उपचारको बाटो र सल्लाहका लागि जिल्ला न्यायाधिवक्ता चन्द्र प्रसाद सञ्जेलको कोठामा पठाइदिए ।

उपचारमा लापरबाही भएको हो कि होइन भन्ने यकिन गर्न पहिले काउन्सिलबाट लेखी आउनु पर्छ । यही कारण सञ्जेलले मुद्दा गर्ने कानुनी आधार देखेनन् ।

Kamala Devi Kaini (1)

  • यसरी सुरु भयो समस्या

बारम्बार पेट दुख्ने समस्या समाधानका लागि कमलादेवी उपचारका लागि थापाथलीस्थित प्रसूति अस्पताल पुगेकी थिइन् । चेकजाँचपछि उनको पाठेघरमा समस्या भएको र अप्रेसन गर्नुपर्ने सुझाव चिकित्सकले दिए । ४ सन्तानकी आमालाई पाठेघरको आवश्यकता थिएन । तसर्थ शल्यक्रियामा उनले सहमति जनाइन् । पाठेघरको शल्यक्रिया भयो । त्यही क्रममा चिकित्सकको लापरबाहीबाट मूत्रनली नै काटिएपछि आफू गम्भीर स्वास्थ्य समस्यामा परेको उनको दाबी छ ।

थापाथलीस्थित अस्पताल आउनु अघि धनगढीमा कुखुरा फार्म चलाइरहेकी कमलादेवीको तल्लो पेट दुखाई असैह्य भयो । स्थानीय अस्पतालमा चेकजाँच गराउनका साथै औषधिमुलो गरिन् । पेट दुख्ने समस्या झन् बढ्यो । स्थानीय अस्पतालले उनलाई ठुलो अस्पतालमा रिफर गरिदियो ।

त्यसपछि उनले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा चेकजाँच गराइन् । परीक्षणका क्रममा पाठेघरका साथै हर्नियाको समस्या देखिएपछि त्यहाँ शल्यक्रिया ढिलो र महँगो हुने भएकाले उनी गत भदौमा थापाथलीस्थित प्रसूति अस्पताल पुगिन् । निर्देशक डा. श्री प्रसाद अधिकारीबाट चेकजाँच गराएर शल्यक्रियाको मिति लिइन् । अधिकारीले शल्यक्रिया आफैँ गरिदिने बचन दिए ।

असोज १६ गते शल्यक्रियाको दिन थियो, अघिल्लो दिन नै कमलादेवी अस्पतालमा भर्ना हुन पुगिन् । डा. अधिकारीबाटै चेकजाँच गरेपछि १८ गते शल्यक्रिया गर्ने तय भयो । यसबेला पनि ‘डा. अधिकारीले नै शल्यक्रिया गर्ने’ बताएको दाबी उनको छ ।

तर, शल्यक्रिया गर्दा डा. अधिकारी देखिएनन् । निशा नामकी एक चिकित्सक र  डा. तुषार जोशीले शल्यक्रिया गरेको कमलादेवीले उजुरीमा दाबी गरेकी छन् । तर, प्रसूति गृहको चिकित्सक सूचीमा डा. जोशीको नाम भेटिँदैन । उनी सिकारु भएको र उनैले गर्दा पिसाबनली काटिएको आशङ्का कमलादेवीमा छ । यद्यपि शल्यक्रिया लगत्तै पिसाब नली काटिएको थाहा हुन सकेन ।

Medical Council Ujuri 001Medical Council Ujuri 002

५ दिनपछि डिस्चार्ज लिए पनि कमलादेवीको स्वास्थ्यमा सुधार भएन । घरमा पुगेपछि पिसाब चुहिन थाल्यो । शरीर सुन्निन थाल्यो । अनि फेरि उनी अस्पताल गइन् । सिटी स्क्यान गर्दा उनको पिसाब नली काटिएको पत्ता लाग्यो । प्रसूति अस्पतालले वीर अस्पतालका युरोलोजिष्ट डा. रबिन बस्नेतलाई बोलाएर शल्यक्रिया गरी कैनीको पिसाब नली जोडियो ।

तर, घाउमा इन्फेक्सन भएपछि एक महिना उनी अस्पतालमै बस्नु पर्‍यो । पहिले लगाएको टाँका निकालेर फेरि लगाउनु पर्‍यो । थापाथलीस्थित अस्पतालमै दुई मेजर र एक माइनर अप्रेसन गर्नु पर्‍यो ।   

त्यसले पनि काम नगरेपछि युरोलोजिष्टसँग फलोअप गराउन कमलादेवी वीर अस्पताल पुग्नु पर्‍यो । चेकजाँज गर्दा उनको दाहिने मिर्गौलाले राम्रोसँग काम गर्न नसकेको देखियो, पिसाबनलीको मुख समेत टालिएको देखियो । वीरमै अर्को अप्रेसन गरेर पिसाबनलीको मुख नै अर्को बनाउने काम भयो । अनिमात्र पिसाब नलीमा देखिएको समस्या समाधान भयो ।

  • छानबिनको प्रारम्भिक प्रतिवेदन आइसक्यो : मेडिकल काउन्सिल

उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र क्षतिपूर्ति मागसहित माघ २ गते उनले नेपाल मेडिकल काउन्सिलमा (दर्ता नम्बर ३२४) उजुरी दिइन् । काउन्सिलका रजिष्ट्रार देवले कमलादेवीको उपचारमा लापरबाही भएको भन्ने सम्बन्धमा उनकी छोरीको तर्फबाट आएको उजुरीमाथि प्रारम्भिक छानबिन सकिएको बताए ।

Dr.-Satish-Kumar-Dev

अब काउन्सिलको पूर्ण बैठक बसेर प्रतिवेदनका सम्बन्धमा पीडितलाई जानकारी दिइने र उपचारमा लापरबाही देखिएमा कारबाहीको सिफारिस गरिने देवको भनाइ छ । यसका लागि यही चैत महिनाभर लाग्ने उनले जनाए ।

‘प्रतिवेदनका आधारमा निर्णय हुन्छ । अहिले नै लापरबाही भएको हो कि होइन भन्न मिल्दैन,’ उनले भने ।

  • प्रसूति गृह भन्छ– लापरबाही भएको छैन

प्रसूति गृह अस्पतालले कमलादेवीको उपचारमा कुनै लापरबाही नभएको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. अधिकारीले कैनीको उपचारमा केही जटिलता आए पनि लापरबाही नगरिएको दाबी गरे ।

कमलादेवीको पाठेघरसँग टाँसिएको पिसाब नली छुट्टिने अवस्था नदेखिएकाले काटिएको भन्दै अधिकारीले यस्तो समस्या एक दुई प्रतिशत मानिसमा हुने जिकिर गरे । जटिलताबारे पहिले नै बिरामी र आफन्तलाई जानकारी गराइएको उनको भनाइ छ ।

shree-prasad-adhikari

डा. अधिकारीले शल्यक्रियामा संलग्न चिकित्सकको नाम खुलाउन चाहेनन् । उनले सबै विवरण मेडिकल काउन्सिललाई पठाइएको जानकारी दिए । ‘विवरण मेडिकल काउन्सिलमा पठाइसकेको छु । काउन्सिलले छानबिन गरिरहेको छ र त्यसको प्रतिवेदन आएपछि मात्रै के हो भनेर भन्न सकिएला,’ उनले भने ।

निर्देशक अधिकारीले कमलादेवीले ५ लाख खर्च भएको, छोरीले जागिर छाड्नु परेको भन्दै क्षतिपूर्तिको माग गरेको सुनाए । उनले भने, ‘यो सरकारी अस्पताल हो, बार्गेनिङ गरेर पनि हुने केही होइन, तर उहाँले बार्गेनिङ गरिरहनु भएको छ ।’

कमलादेवीको उपचारमा अधिकतम २ लाख रुपैयाँ खर्च भएको अनुमान अधिकारीको छ । तर पीडित परिवारले भने उपचारका क्रममा आफ्नो १६ लाख रुपैयाँ खर्च भएको दाबी गरेको छ ।

  • कमलादेवीको दौडधुप

उपचारमा लापरबाही भएको दाबी गर्दैै संलग्न चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको मागदाबी गर्दै कमलादेवी विभिन्न निकायमा धाइरहेकी छन् । जिल्ला प्रहरी परिसर टेकु, स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र प्रधानमन्त्री कार्यालयसम्म चहार्न उनले बाँकी राखिनन् । तर काउन्सिलले उजुरी लिएको छ भने जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि भन्दै निवेदनसहित स्वास्थ्य मन्त्रालयमा लेखी पठाएको छ । 

  • कानुनी व्यवस्था

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ मा इलाज सम्बन्धी कसुरबारे बोलिएको छ । संहिताको दफा २३२ मा लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न नहुने भनी भनिएको छ ।

सोही दफाको उपदफा १ मा ‘कानुन बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा गम्भीर लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन’ भनी उल्लेख गरिएको छ । सोही दफाको उपदफा २ मा उपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरबाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राइँ गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । तर हेलचक्य्राइँ गरेको पुष्टि हुन मेडिकल काउन्सिलबाट प्रतिवेदन आउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप