शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

टेस्ट खेल्न संन्यास फिर्ता लिए लगत्तै निलम्बनमा परे श्रीलङ्काली क्रिकेटर हसरंगा

बुधबार, ०७ चैत २०८०, १२ : ५७
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । टेस्ट क्रिकेट खेल्न सन्न्यास फिर्ता लिएका श्रीलङ्काली क्रिकेटर वानिन्दु हसरंगा विचित्रको आपत्ति आइलागेको छ । उनले मंगलबार मात्र बंगलादेशविरुद्धको दुई टेस्टको शृङ्खला खेल्न आफ्नो संन्यास फिर्ता लिएका थिए ।

एक वर्षभन्दा लामो समयपछि टेस्ट क्रिकेट खेल्न संन्यास फिर्ता लिएकै दिन उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट दुई खेलका लागि निलम्बनमा परेका छन् । उनले एक वर्षअघि टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए ।

टेस्ट शृङ्खला सुरु हुनुअघि सोमबार राति श्रीलङ्का र बङ्गलादेशबिच तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । त्यो खेलका क्रममा हसरंगाले आचरणविरुद्धको काम गरेको भन्दै आईसीसीले उनीमाथि दुई खेलको प्रतिबन्ध लगाएको हो ।

तेस्रो एकदिवसीय खेलको ३७औँ ओभरमा हसरंगाले अभद्र तरिकाले अम्पयरबाट आफ्नो क्याप खोस्दै अम्पायरको खिल्ली उडाएका थिए । त्यसपछि उक्त घटनाको विषयमा अम्पायरले आईसीसीको अनुशासन समितिमा उजुरी गरेका थिए । सोही घटनालाई लिएर हसरंगा निलम्बनमा परेका हुन् ।

हसरंगाले म्याच शुल्कको ५० प्रतिशत जरिवाना पनि तिर्नुपर्ने भएको छ । यसका अतिरिक्त वरीयतामा उनको अंक पनि घटाइने भएको छ । तेस्रो एकदिवसीय खेलमा बंगलादेश चार विकेटले विजयी भएको थियो । बंगलादेशले तीन खेलको एकदिवसीय शृङ्खला पनि २–१ ले जितेको थियो ।

आईसीसीले हसरंगामाथि प्रतिबन्ध लगाउने निर्णय मंगलबार साँझ सार्वजनिक गरेको थियो । त्यही दिन दिउँसो उनले टेस्ट क्रिकेटबाट सन्न्यास फिर्ता लिएको घोषणा गरेका थिए । आईसीसीको उक्त निर्णयपछि अब २६ वर्षीय हसरंगाले बंगलादेशविरुद्धको टेस्ट गुमाउने भएका छन् ।

श्रीलङ्का र बंगलादेशबिचको पहिलो टेस्ट शुक्रबार सुरु हुनेछ । उक्त टेस्ट आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिप शृंखलाअन्तर्गत खेल्न लागिएको हो । प्रभावशाली लेग–स्पिनर हसरंगाले आफ्नो अन्तिम टेस्ट सन् २०२१ को अप्रिलमा खेलेका थिए ।

उनले हालसम्म श्रीलङ्काका लागि केवल चारवटा टेस्ट खेलेका छन् । टेस्ट क्रिकेटमा उनले एक अर्धशतकको मद्दतले कुल एक सय ९६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले चार विकेट पनि लिएका छन् । उनले चारवटै विकेट टेस्टको एउटै पालीमा लिएका हुन् । उनले श्रीलङ्काका लागि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय ६५ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् ।

बंगलादेशविरुद्धको टेस्टका लागि घोषित श्रीलङ्काली टोलीमा धनन्जय डा सिल्भा (कप्तान), कुशल मेन्डिस (उपकप्तान), दिमुथ करुणारत्ने, निसान मदुसका, एन्जेलो म्याथ्युज, दिनेश चन्डिमल, सदिरा सामराविक्रमा, कामिन्दु मेन्डिस, लाहिरु उदरा, वानिन्दु हसारंगा, प्रभाथ जयसूर्या, रमेश मेन्डिस, निशान पेइरिज, कसुन रजिथा, विश्वा फर्नान्डो, लाहिरु कुमारा र चामिका गुनशेकरा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप