आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको लापरबाहीको हद :  कक्षा ६ र ७ को सामाजिकको प्रश्नपत्र एउटै !

बिहीबार, ०८ चैत २०८०, १६ : १०
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । नुवाकोटको एक स्थानीय तहले गाउँपालिका स्तरीय वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर लापरबाही गरेको खुलेको छ । तारकेश्वर गाउँपालिकाले कक्षा ६ र ७ को ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’ विषयको प्रश्नपत्र एउटै बनाएको पाइएको हो । 

मंगलबार प्रश्नपत्रमा भएको यो हदको त्रुटि विद्यार्थीलाई वितरण गर्ने बेलामा विद्यालयहरूले पत्तो पाएका थिए । वार्षिक परीक्षा समितिका संयोजक राजाराम अधिकारीको नेतृत्वमा बनाइएको प्रश्न कक्षा ६ को पाठ्यक्रमअनुसार मिल्दो भए पनि कक्षा ७ को पाठ्यक्रमअनुसार भने मिल्दो थिएन । परीक्षा समितिले यो हदको  लापरबाही गरेको भन्दै आलोचना भएको छ । 

गाउँपालिकाका उपाध्यक्ष हरि रिमालले प्रश्नपत्र बनाउने क्रममा लापरबाही हुँदा यस्तो भएको बताए । उनले भने, ‘यो लापरबाही हो । यसबारे बैठकमा छलफलको विषय हुन्छ ।’ शिक्षा समितिले प्रश्नपत्र ठिक भए नभएको रुजु गरेरमात्रै छपाइ गर्नुपर्ने भए पनि त्यसो नगरिकै कारण यस्तो त्रुटि भएको हुनसक्ने उनको भनाइ छ । प्रश्नपत्र गल्ती भएको पाइएसँगै सो दिन गाउँपालिकाका विद्यालयहरूले अर्को विकल्प तयार गरेर ढिलागरी कक्षा ७ को परीक्षा सञ्चालन गरेको बताइएको छ । 

यस विषयमा शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिकाका अध्यक्ष अधिकारीले भने यसबारे प्रतिक्रिया दिन चाहेनन् । तर, गाउँपालिकाको प्रश्नपत्र भने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक प्रश्नपत्रमा कक्षा ६ को प्रश्नपत्र रातो र ७ को सेतो रंगको हुनुबाहेक अरु केही फरक छैन । 

तारकेश्वर गाउँपालिकाको शिक्षा क्षेत्रमा निरन्तर नै विवाद हुँदै आएको छ । गाउँपालिका अध्यक्षले मनपरी सरुवा गरेको भन्दै यो वर्ष लामो समय विवाद भएको थियो । उसो त गाउँपालिकाका अध्यक्ष कांग्रेसबाट निर्वाचित भए पनि सोही पार्टीबाट निर्वाचित केही वडाध्यक्षले नै अध्यक्ष अधिकारीको कार्यशैलीको विरोध गर्दै आएका छन् । 

430371574_1509555262935290_2667601226578087283_n430970915_1578751502908456_511156976863388501_n

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप