मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

विश्व बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान, किन हुँदैछ निरन्तर मूल्यवृद्धि ?

केन्द्रीय बैंकहरूको सुन खरिदले पनि थप बढाउनेछ भाउ
बिहीबार, ०८ चैत २०८०, २२ : ४९
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । विश्व बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान बनाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यो वर्ष तीन पटक ब्याजदर कटौती गर्ने प्रक्षेपण आएसँगै अमेरिकी डलर र ऋणपत्रको  प्रतिफल घट्दा सुनको भाउ बढेको हो ।

केन्द्रीय बैंकहरूले धमाधम कीर्तिमानीस्तरमा सुन किनिरहेकाले सुनको भाउ बढ्ने सम्भावना प्रशस्त रहेको विश्लेषकहरू बताउँछन् ।

बिहीबार सुनको मूल्य १ प्रतिशत प्रतिऔंसले बढेर २ हजार २१० डलर ५९ सेन्टसम्म पुगेको थियो । यो अहिलेसम्मकै सर्वाधिक मूल्य हो । यद्यपि नेपाली समयअनुसार बिहीबार दिउँसो ३ः३० बजे न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस २ हजार २०३ डलर ७८ सेन्टमा किनबेच भइरहेको थियो । कोमेक्समा बिहान कारोबार सुरु भएदेखि नै सुनको भाउ उकालो लाग्न थालेको थियो ।

डलरको भाउ घट्दा गैर–डलर बाहकका लागि सुन सस्तो पर्ने भएकाले माग बढ्ने गरेको छ । रुस र युक्रेनको युद्ध, गाजामा जारी द्वन्द्वलगायत भूराजनीतिक तनावका कारण पछिल्लो समय विश्व बजारमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । विश्वभर केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउन धमाधम सुन खरिद गरिरहेकाले पनि भाउ बढेको उनको भनाइ छ ।

यस वर्षको डिसेम्बरसम्म सुनको भाउमा प्रति औंस ८ सय डलरसम्म थपिन सक्ने आकलन भइरहेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन भाउ बढेपछि नेपाली बजारमा पनि बिहीबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको थियो । बुधबारको तुलनामा बिहीबार एकै दिन सुनको भाउ तोलामै २ हजार ६०० रुपैयाँले बढेको थियो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँ पुगेको छ । सुनको भाउ यो स्तरमा पुगेको यो पहिलो पटक भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बजार अनुसन्धाता संस्था सिटीको उत्तर अमेरिकाका लागि कमोडिटी रिसर्च हेड आकाश दोशीले भने सीएनबीसीसँगको कुराकानीमा सुनको भाउ यो वर्षको दोस्रो अर्धवार्षिक अवधिमा बढेर प्रतिऔंस २ हजार ३०० सम्म पुग्न सक्ने बताएका थिए ।

अमेरिकी केन्द्रीय बैंकले यस वर्षको उत्तरार्द्धमा ब्याजदर घटाउन थाल्ने अपेक्षा चुलिएको छ । फेडले ब्याजदर घटायो भने डलर थप कमजोर हुनेछ । यस्तोमा गैर–डलर बाहकका लागि सुन खरिद सस्तो पर्ने र माग बढ्ने दोेशी बताउँछन् ।

ब्याजदर घट्दा ऋणपत्रलगायत सम्पत्तिबाट आउने प्रतिफल पनि घट्ने भएकाले पनि सुनमा लगानी बढ्ने गरेको छ । सुनको भौतिक खरिदारीमा भइरहेको वृद्धिले पछिल्लो समय भाउ वृद्धिमा टेवा दिइरहेको छ ।

केन्द्रीय बैंकहरूको सुन खरिदले पनि थप बढाउनेछ भाउ

दुई वर्ष यता विश्वका केन्द्रीय बैंकहरूले कीर्तिमानीस्तरमा सुन किनेका छन्  । यो वर्ष  पनि केन्द्रीय बैंकहरूको सुन खरिदारी मजबुत रहने विश्व सुन परिषद् (डब्ल्यूजीसी)का केन्द्रीय बैंकहरूका ग्लोबल हेड शाओखाई फानले बताएका छन् । ब्याजदर उच्चस्तरमा रहेको र डलर बलियो बने पनि केन्द्रीय बैंकहरूको सुन खरिदारी बढ्दा सुनको भाउ बढेको छ । यद्यपि, सुनमा गरेको लगानीले ब्याज दिँदैन । त्यसैले ब्याजदर उच्च हुँदा लगानीकर्ताहरूले सुनमा लगानी गर्दैनन् । बरु उनीहरू बैंकमा रकम राखेर बढी ब्याज खान्छन् ।

पछिल्लो समय बढेको भूराजनीतिक अनिश्चयका कारण सेफ हेभन एसेटका रुपमा सुनको माग बढ्दा पनि भाउले टेवा पाइरहेको हो । गएको दशकमा रुस र चीन सुनको सबैभन्दा ठुला क्रेता थिए । तर हालैका वर्षमा केन्द्रीय बैंकहरूले सुनको खरिद बढाएका छन् । सन् २०२३ मा केन्द्रीय बैंकहरूमा चीनको पिपुल्स बैंक अफ चाइना (पीबीओसी) सुनको सबैभन्दा ठुलो क्रेता बनेको थियो । गत वर्ष पीबीओसीले २४४ दशमलव ८८ टन सुन किनेको थियो । पोल्यान्ड, सिङ्गापुर, लिबिया र चेक गणतन्त्रका केन्द्रीय बैंकहरूले पनि गत वर्ष ठुलो परिमाणमा सुन किनेर राखेका थिए ।

अर्थतन्त्र कमजोर रहेको अनि घरजगा बजारमा समस्या हट्ने कुनै सङ्केत नदेखिँदा पनि चिनियाँ लगानीकर्तामा सुनको माग बढेको थियो ।

गत वर्ष चीन सुनको सबैभन्दा ठुलो खुद्रा क्रेता बनेको थियो । २०२३ मा चिनियाँ उपभोक्ताहरूले ६०३ टन सुन किनेका थिए । यो सन् २०२२ को भन्दा १० प्रतिशत धेरै हो । सुनको दोस्रो ठुलो खरिदकर्ता भारतमा पनि सुनको माग बढेको थियो । सन् २०२२ को तुलनामा गएको वर्ष भारतमा खपतका लागि सुनको माग ६ प्रतिशतले बढेर ५६३ दशमलव २ टनमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप