मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेलाई समाजवादी मोर्चामा ल्याउने विप्लवको प्रयास सफल होला ?

शुक्रबार, ०९ चैत २०८०, १२ : ४५
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै माओवादीसहित चार दलीय समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास सुरु भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकमा एमालेलाई पनि समेट्नेबारे छलफल भएको संयोजक नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । एमालेसँग थप छलफल गरेर मोर्चाको आगामी कार्यक्रम ल्याउने गरी शुक्रबारको बैठक नै स्थगित भएको उनले बताए ।

‘समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भयो । मोर्चामा एमालेलाई पनि समेट्ने गरी पहल थालेका छौँ । एमालेका नेताहरूसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्नुहुन्छ ।  एमालेसमेत बसेर मोर्चाको कार्यक्रम टुङ्ग्याउने छौँ’, रातोपाटीसँग विप्लवले भने ।

मोर्चाको बैठक बस्नुअघि विप्लवले एमालेका अध्यक्ष केपी ओलीसँग बिहीबार साँझ दुई घण्टा लामो भेटवार्ता गरेका थिए । ओलीसँगको कुराकानी सम्बन्धमा संयोजक विप्लवले मोर्चाको बैठकमा ब्रिफिङ गरेका थिए । ओलीसँग थप छलफल गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिइएको छ । ओलीसँगको  भेटवार्ता सकारात्मक भएको विप्लवले बताएका छन् ।

‘समाजवादी मोर्चालाई एमालेलाई समेट्ने विषयमा मैले अध्यक्ष केपी अ‍ोलीसँग बिहीबार कुराकानी गरेको थिएँ । यस विषयमा सरकारमा सहभागी भएका नेताहरूसँग छलफल गर्ने भन्ने कुरा भएको छ ।’, ओलीसँगको भेटबारे जानकारी दिँदै उनले भने, ‘अर्को आगामी दिनमा कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा कुरा भयो । सकारात्मक कुरा भएको छ । छलफलपछि मोर्चाप्रति उहाँ सकारात्मक देखिनुभएको छ ।’

यद्यपि मोर्चामा एमाले सहभागी हुने विषयमा अहिले केही सोच नबनाएको एमालेका महासचिव शंकर पोखरेलले बताए । सत्ता समीकरण फेरबदल भएसँगै यसलाई थप बलियो बनाएर जने विषयमा आफूहरूको ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।

‘अहिले हामी समाजवादी मोर्चामा जाने सोचमा छैनौँ । सरकार र सत्ता सहकार्यको विषयलाई बलियो गरी अगाडि बढाउने खालको सोचमा रहेका छौँ । सत्तासँगको सहकार्य अटुट रूपमा बढ्छ’, उनले भने, ‘वाम धु्रबीकरण पार्टीलाई बलियो बनाउने विषय हो । भोलि बलियो राष्ट्रिय शक्ति बनाउने कुरा हो । अहिलेको अवस्थामा समाजवादी मोर्चा बनाएर जाने विषयमा सोच नभएपछि पछि सहकार्य वा एकता हुन सक्छ ।’

फागुन ६ गते एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले संयोजकमा विप्लवलाई चयन गरेपछि उनले एमालेलाई समेट्ने गरी पहल थालेका थिए । संयोजक भएलगत्तै उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एमालेसँग पनि सहकार्य हुनसक्ने बताएका थिए । फागुन २१ गते कांग्रेससँग सत्ता समीकरण भत्किएपछि एमालेको नेतृत्वमा नयाँ समीकरण बनेको छ । एमालेसहित वृहत् वामपन्थी मोर्चा बनाएर जाने विषयमा प्रचण्ड, माधव पनि सकारात्मक देखिएका छन् । माेर्चाको आगामी कार्यक्रम बनाउन एमालेसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र माधव नेपाललाई जिम्मा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप