शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीमा कांग्रेसको सरकार बन्दैन : शालिकराम जम्कट्टेल

‘अहिले बागमतीले मध्यावधि निर्वाचन चाहेको छैन’
बुधबार, १४ चैत २०८०, ०७ : ५८
बुधबार, १४ चैत २०८०

मकवानपुर । बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा जटिल अङ्कगणितका कारण सरकार टिकाउन सत्ता गठबन्धनलाई सकस परिरहेको छ । सरकारमाथिको सङ्कट टार्न गठबन्धन दलहरू तीव्र दौडधुपमा छन् ।

केन्द्रीय तहमा प्रदेश सरकारको नेतृत्व नटुङ्गिएका बखत प्रदेशका सांसद र दलका नेताहरू काठमाडौँमै डेरा जमाएर बसिरहेका छन् । प्रदेशका मुख्यमन्त्रीदेखि एमाले संसदीय दलका नेता र एकीकृत समाजवादीका नेता पनि काठमाडौँमै छन् ।

केन्द्रको भागबण्डा कुरिरहेका नेताहरू गठबन्धनको बहुमत जुटाउन अपुग सांसदको खोजीमा साना दलहरूसँगको भेटघाटमा समेत जुटेका छन् ।

प्रदेश सरकारको भागबण्डाको निर्णय कुरिरहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि दलहरूसँगको भेटघाटमा छन् । सरकारको नेतृत्व आफ्नो पक्षमा पार्न गठबन्धनमा दबाब बढाइरहेका उनी दलहरूको समर्थन जुटाउन पनि सक्रिय छन् ।

यसै सन्दर्भमा मुख्यमन्त्री जम्कट्टेलसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश :

बागमती प्रदेशको राजनीतिक गतिविधि कसरी अगाडि बढिरहेको छ ?

हामी निरन्तर छलफलमा छौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसबाहेक सबै दलसँग सत्ता समीकरणको विषयमा हामीले छलफल गरेका छौँ । अझै पनि छलफल चलिरहेको छ ।

वर्तमान गठबन्धनलाई नै प्रदेशमा अघि बढाउने गरी हामी अघि बढेका छौँ । प्रदेशसभाका दलहरूबिच सौहार्द्रताका साथ छलफल भएको छ । राजनीतिक अस्थिरता ल्याउनु हुँदैन भन्ने पक्षमा सबै हुनुहुन्छ । हामी बलियो समीकरण निर्माणमा सक्रिय बनेका छौँ ।

सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङ्गिएको छैन । सरकारको भविष्य के हुन्छ त ?

सरकारको नेतृत्वको विषयमा केन्द्रबाट अहिलेसम्म ठोस निष्कर्ष आएको छैन । उहाँहरूसँग निरन्तर संवाद भइरहेको छ । गठबन्धन दलका शीर्ष नेतृत्वसँग मैले पनि आग्रह गरेको छु । नेतृत्व टुङ्ग्याउन गठबन्धन दलका प्रदेशका साथीहरूले पनि भन्नु भएको छ । सम्भवतः छिटै हुन्छ भन्ने लागेको छ । ठोस निष्कर्ष नआएसम्म यही हो भन्न सकिन्न ।

तर, बागमतीमा अहिलेको सरकारको भविष्य रहन्छ भन्ने लागेको छ । निरन्तरता हुन्छ भन्ने मेरो विश्वास हो । हामी विश्वासको मत लिएर अघि बढ्ने तयारीमा छौँ । त्यसको आन्तरिक तयारी भइरहेको छ ।

त्यसो भए तपाईंलाई केन्द्रबाट ‘ग्रीन सिग्नल’ आएको हो ?

त्यसो होइन । ग्रीन सिग्नल आए सबैलाई एकै पटक थाहा हुन्छ । मलाई छुट्टै, अरुलाई छुट्टै आउँदैन । धेरै कुरा मलाईभन्दा पहिले तपाईंहरूलाई थाहा हुन्छ । कतिपय कुरा मिडिया मार्फत् मैले थाहा पाउँछु । मिडियामा आएजस्तै हुन्छ भन्ने लागेको छ ।

बागमतीमा अहिलेको सरकारलाई नै निरन्तरता दिनेमा गठबन्धन दलका नेताहरू सकारात्मक हुनुहुन्छ भन्ने बुझाइ पाइएको छु । सोही अनुसार सरकार अघि बढाउने तयारीमा जुटेको हो । ठोस निष्कर्ष नआएसम्म यो ग्रीन भन्ने हुन्न । एक÷दुई दिनमै टुङ्गिन्छ भन्ने जानकारी पाएको हुँ । सरकारको नेतृत्व गरिरहेकाले कानुनी व्यवस्था अनुसार प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने मेरो दायित्व हो ।

विश्वासको मत कहिले लिने तयारी गर्नुभएको छ त ?

म केन्द्रको निर्णय पर्खिरहेको छु । केन्द्रको निर्णय आएसँगै प्रक्रिया अघि बढाउने तयारी हो । सरकार विस्तार र विश्वासको मत छिट्टै लिने तयारी गरेको छु । यो प्रक्रिया २२ गतेभन्दा पछि लान मिल्दैन । समय पनि कम हुँदै गएको छ । अहिलेसम्म मिति तोकेको छैन । छिटै हुन्छ ।

विश्वासको मत पाउनेमा कतिको विश्वस्त हुनुहुन्छ ? यता कांग्रेसले पनि पहल बढाइरहेको छ नि ?

केन्द्रबाट अहिले कै नेतृत्वलाई निरन्तरता दिने निर्णय आएमा मैले संसदबाट विश्वासको मत पाउँछु । सत्ता गठबन्धन दल बाहेक राप्रपा, हाम्रो नेपाली पार्टी र नेमकिपासँग निरन्तर छलफलमा छौँ । प्रदेशलाई राजनीतिक अस्थिरतामा जान दिनु हुँदैन भन्नेमा उहाँहरू स्पष्ट हुनुहुन्छ । उहाँहरूसँगको भेटमा सकारात्मक सङ्केत पाएको छु । कोशीको अवस्था आउन दिनु हुँदैन भनेर उहाँहरू सचेत हुनुहुन्छ । नेतृत्वको विषय टुङ्ग्ग्याएर आउनुस्, हामीले गर्नुपर्ने भूमिका निर्वाह हुन्छ भन्ने जवाफ पाएको छु । समर्थन र विश्वासको मतमा त्यस्तो समस्या छैन ।

अब कुरा रह्यो कांग्रेसको, प्रतिपक्षले सधैँ सरकारलाई सहयोग गर्छ भन्ने छैन । अलिअलि समस्या नबनाए प्रतिपक्षको जिम्मेवारी के हुन्छ ? त्यसैले कांग्रेसले असहयोग ग¥यो भन्नेमा चिन्ता छैन । उसको काम नै सरकारलाई असहयोग गर्ने हो त । कांग्रेस सरकारको नेतृत्व लिन तयार भएर बसेको पार्टी हो । समीकरण परिवर्तन भए पनि अहिलेको सरकारलाई सहज रुपमा अघि बढ्न कांग्रेसले सहयोग गर्दैन ।

सत्ता गठबन्धनलाई अङ्कगणितले पनि सहयोग गरिरहेको देखिँदैन । समीकरणमा सहज मानिएको हाम्रो नेपाली पार्टी पनि दिन प्रतिदिन फरक ढङ्गबाट अघि बढिरहेको छ ? यसले त प्रभाव पार्ला नि ?

तपाईंले भन्न खोजेको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा दाबी गरेर जारी गरेको विज्ञप्ति र समर्थन फिर्ताको पत्रलाई होला । त्यसको कुनै अर्थ रहन्छ र ? सरकारबाट कांग्रेस बाहिरिएसँगै अल्पमतमा छौँ हामी । हामीले विश्वासको मत लिनै पर्छ त । हाम्रो नेपाली पार्टीको विश्वासको मत फिर्ता सम्बन्धी पत्रले के अर्थ राख्छ र ? त्यो पत्र त यसअघि नै उहाँहरूले मलाई बुझाउन तयार गर्नुभएको थियो । मैले नै पख्नुस्, तपाईंहरूको विषयमा सकारात्मक निर्णय हुन्छ भनेको थिएँ । उहाँहरूले अहिले त्यसलाई बाहिर ल्याउनु भयो, के फरक पर्छ र ?

एउटा कुरामा के प्रस्ट हुनुपर्यो भने बागमतीमा कांग्रेसको सरकार बन्दैन । त्यो अवस्था छैन । समीकरण अनुसार कांग्रेसको सरकार बन्ने अवस्था छैन । गठबन्धनलाई सरकार बनाउन एक जना नपुगेको होइन र ? हामी हाम्रो नेपाली पार्टी, राप्रपा र नेमकिपासँग छलफलमा छौँ । छलफल सकारात्मक छ । तर, कांग्रेसलाई त्यो अङ्कगणित पुर्याउन सहज त छैन नि ।

कांग्रेसलाई सरकार बनाउन कति पुग्दैन, हिसाब गर्नुस् न । बागमतीमा अहिले बने पनि, पछि बने पनि वर्तमान गठबन्धनको सरकार बन्छ । अहिलेको नेतृत्वको भने पनि, नेतृत्व परिवर्तन भए पनि केन्द्रकै गठबन्धन अनुसारको सरकार बन्छ । केन्द्रको भन्दा फरक समीकरणमा सरकार बन्दैन । अहिले बागमतीले मध्यावधि निर्वाचन चाहेको छैन । त्यसैले प्रदेशसभाका दलहरू पनि त्यो सोचमा हुनुहुन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप