सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा आज : पहिलो जितको खोजीमा हैदरावाद र पाँच पटकको विजेता मुम्बई

बुधबार, १४ चैत २०८०, १० : ४१
बुधबार, १४ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच खेल हुँदैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा हैदराबाद र मुम्बई दुबैको यो दोस्रो खेल हो । हैदराबाद र मुम्बई दुबै आफ्नो पहिलो खेलमा पराजित भएका थिए । हैदराबादलाई कोलकाता नाइट राइडर्सले चार रनले हराएको थियो । मुम्बईलाई भने गुजरात टाइटन्सले ६ रनले पराजित गरेको थियो ।

यी दुबै टोलीले आफ्नो पहिलो खेलमा ‘अवे’ मैदानमा हार भोगेका हुन् । मुम्बई इन्डियन्स आईपीएलको इतिहासमा सर्वाधिक सफल टोली हो । मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हैदराबादले भने हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ ।

००

हेड टु हेडमा मुम्बई अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म हैदराबाद र मुम्बईबिच कुल २१ खेल खेलिएको छ । यी दुई टोलीबिच खेलिएको खेलमा मुम्बई अगाडि देखिन्छ । हालसम्म आईपीएलमा १२ पटक मुम्बईले हैदराबादलाई हराएको छ ।

हैदराबादले भने मुम्बईलाई नौ पटक पराजयको स्वाद चखाएको छ । हैदराबादस्थित राजिव गान्धी स्टेडियममा भने यी दुवै टोलीबिच हालसम्म आठ खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा मुम्बई र चार खेलमा हैदराबाद विजयी भएका छन् ।

००

हैदराबादका हेनरिक क्लसेनको नाममा सर्वाधिक रन

पाँचौँ नम्बरमा क्रिज समाल्न आउने हेनरिक क्लासेन जारी आईपीएलमा हैदराबादका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले कोलकाताविरुद्धको खेलमा ६३ रन बनाएका थिए । उक्त खेलमा मयंक अग्रवाल र अभिषेक शर्माले पनि ३२–३२ रन बनाएका थिए ।

बलिङतर्फ हैदराबादका टी. नटराजन सबैभन्दा अगाडि छन् । तीव्र गतिका बलर नटराजनले जारी सिजनको आईपीएलमा कोलकाताविरुद्ध चार विकेट लिएका थिए । हैदरावादका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा मयंक मारकंड दोस्रो स्थानमा छन् । उनले दुई विकेट लिएका छन् ।

००

मुम्बईका बुमराहको नाममा सर्वाधिक विकेट

जारी सिजनको आईपीएलमा मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर हुन्, जसप्रित बुमराह । उनले अघिल्लो खेलमा तीन विकेट लिएका थिए । हैदराबादविरुद्धको खेलमा पनि मुम्बईले बुमराहबाट उत्कृष्ट प्रदर्शनको आश गरेको छ ।

ब्याटिङतर्फ मुम्बईका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्, डेवाल्ड ब्रेविस । अलराउन्डर खेलाडी डेवाल्डले अघिल्लो खेलमा ३८ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ४६ रन बनाएका थिए । उक्त खेलमा टोलीका लागि पूर्वकप्तान रोहित शर्माले पनि ४३ रन बनाएका थिए ।

००

ब्याट्सम्यानलाई साथ दिने पिच

हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पुर्याउने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा अत्यधिक रन बन्ने गरेको पाइन्छ । यहाँको पिचले बलरलाई तुलनात्मक रुपमा कम सहयोग पुर्याउँछ ।

यो स्टेडियममा हालसम्म आईपीएलको ७१ वटा खेल खेलिएका छन् । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३१ वटा खेल जितेको इतिहास छ । जवाफी ब्याटिङ गर्ने टोलीले भने हालसम्म ४० खेल जितेका छन् ।

००

वर्षाको सम्भावना छैन, चर्को गर्मी

हैदराबादमा बुधबार वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको विपरित चर्को गर्मी भने धेरै खेलाडीका लागि समस्याको विषय बन्न सक्छ । हैदराबादको तापक्रम ३८ डिग्री सेल्यिससम्म रहने बताइएको छ ।

००

सम्भावित टोली

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), मयंक अग्रवाल, राहुल त्रिपाठी, एडन मारक्रम, हेनरिक क्लासेन, अब्दुल समाद, शहबाद अहमद, मार्को जोन्सन, भुवनेश्वर कुमार, मयंक कारकंडे र टी. नटराजन रहेका छन् ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), तिलक वर्मा, नमन धीर, टिम डेभिड, शम्स मुलनी, पियुष चावला, जेराल्ड कोट्जी, जसप्रित बुमराह र ल्युक उड रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप