जन्मदर घटेको भन्दै बेबी डाइपर बनाउने काम बन्द गर्दै जापानी कम्पनी
टोकियो । जापानमा एउटा डाइपर निर्माता कम्पनीले बालबालिकाका लागि डाइपर बनाउन पूरै बन्द गर्ने भएको छ । ओजी होल्डिङले जापानमा बेबी डाइपर उत्पादन पूरै छाडेर वयस्कहरूका लागि मात्रै डाइपर बनाउने भएको हो । जापानको जनसङ्ख्या बनावट परिवर्तन भइरहँदा त्यहाँका कयौँ कम्पनीहरूले आफ्नो उत्पादन नीतिमा हेरफेर गरिरहेका छन् ।
पछिल्ला केही वर्षयता त्यहाँ जन्मदर कीर्तिमानी न्यून स्तरमा झरिरहेको छ । एक दशकभन्दा बढी समयदेखि साना बालबालिकाको डाइपरको विक्रीलाई वयस्कका लागि बनाइएको डाइपरले जितिरहेको छ । सन् २०२३ मा जापानमा ७ लाख ५८ हजार ६३१ बच्चा जन्मिए । यो अघिल्लो वर्षको भन्दा ५ दशमलव १ प्रतिशत कम थियो । यो सङ्ख्या १९ औँ शताब्दी यताकै कम हो । सन् १९७० को दशकमा एक वर्षमा २० लाखभन्दा धेरै शिशु जन्मिन्थे ।
ओजी होल्डिङ्सले जारी गरेको विज्ञप्तिका अनुसार सहायक कम्पनी ओजी नेपियाले अहिले वार्षिक ४० करोड थान शिशु डाइपर बनायरहेको छ । सन् २००१ मा वार्षिक ७० करोड थान डाइपर बनाएयता कम्पनीको उत्पादन हरेक वर्ष घट्दै आएको थियो । सन् २०११ मा कम्पनीले शिशु भन्दा धेरै डाइपर वयस्कका लागि बेच्यो । जापानको वयस्क डाइपरको बजार बढ्दो छ ।
एडल्ट डाइपर बजार यस वर्ष २ अर्ब डलरभन्दा माथि उक्लिने अनुमान छ । जापानमा विश्वमा सबैभन्दा धेरै वृद्ध जनसङ्ख्या छ । यहाँको कूल जनसङ्ख्याको झन्डै ३० प्रतिशत ६५ वर्ष वा सोभन्दा बढी उमेरका छन् । गएको वर्ष ८० वर्षभन्दा बढी उमेरको जनसङ्ख्या अनुपात पहिलो पटक १० प्रतिशतमाथि पुगेको थियो । कम्पनीले माग उच्च भएको मलेसिया र इन्डोनेसिया लगायत देशमा भने बेबी डाइपर बनाउने काम जारी राख्ने बताइएको छ ।
जापान सरकारले जनसङ्ख्या बढाउन अनेकौँ उपाय अपनाइरहेको छ । अनुदान र प्रोत्साहन भत्ता, शिशु स्याहार भत्ता लगायत असङ्ख्य उपायले पनि युवा दम्पती वा अभिभावकहरूलाई परिवार बढाउनतिर खासै आकर्षित गर्न सकेको छैन । न्यून विवाह दर, महिलाहरू कामकाजी हुनु अनि बालबच्चा हुर्काउने खर्चमा भइरहेको वृद्धिलगायत कारणले जापानको जन्मदर प्रभावित भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण