सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व नेवा: दिवस

कहिलेदेखि किन र कसरी नेवा दिवस मनाउन थालियो ?

शनिबार, १७ चैत २०८०, १० : ५१
शनिबार, १७ चैत २०८०

नेपाल संवत् १९३२ को नयाँ वर्ष (अर्थात् सन् २०११) देखि विश्वभर छरिएर रहेका नेवार समुदायले स्थानीय पासापुच गुथिको संयोजनमा लन्डनमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरे । जसले नेवा समुदायको पहिलो अन्तर्राष्ट्रिय सङ्गठन ‘विश्व नेवा सङ्गठन’ (वल्र्र्ड नेवा अर्गनाइजेसन) को घोषणा ग¥यो । स्थानीय पासापुच गुथि तथा विभिन्न देशका नेवार प्रतिनिधि र नेपालबाट पाल्नुभएका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी र विशिष्ट अतिथिहरू (प्रा. माणिकलाल श्रेष्ठ, मानवतावादी नेता पदमरत्न तुलाधर, डा. महेशमान श्रेष्ठ लगायत व्यक्तित्वहरू)को उपस्थितिमा गठित यस सङ्गठनको पहिलो अध्यक्ष हुने सौभाग्य मलाई मिल्यो । हाल विभिन्न देशमा यसका शाखा रहेका छन् भने विभिन्न देशमा रहेका अरु नेवार सङ्गठनसँग पनि ती शाखाले सहकार्य गर्दै आइरहेका छन् । 

यस सङ्गठनको सुरुवातमै विश्व नेवा दिवस मनाउने सोच राखिएको थिएन । दोस्रो सम्मेलन नेपालमा गर्ने योजना थियो । नेपालको राजनीतिक परिस्थिति र २०७२ को भूकम्पका कारण हामीले नेपालमा सम्मेलन गर्न सकेनौँ । अलि ढिलो भए पनि सन् २०१६ मा अमेरिको बाल्टिमोरमा दोस्रो नेवा सम्मेलन भव्य रूपमा सम्पन्न भयो । तीनदिने (मार्चको २५, २६ र २७ तारिख) त्यस सम्मेलनले बाल्टिमोर निवासी सिजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति बनायो । त्यो सम्मेलनलाई चीरकालसम्म सम्झनामा राखिराख्ने उद्देश्यले दयारत्न शाक्यको संयोजनमा गठित एक टोलीले सन् २०१८ मार्च ३० देखि अप्रिल १ (तीन दिन)सम्म नेपालमा ‘ग्लोबल नेवा कन्फेरेन्स’ सम्पन्न ग¥यो, जसको आयोजना विश्व नेवा सङ्गठनले गरेको थियो । यही वर्ष मार्चको अन्तिम शनिबार (मार्च ३१ मा) पहिलोपटक काठमाडौँमा ‘विश्व नेवा दिवस’ मनाइयो, विश्व नेवा सङ्गठनको शाखा र नेपालभाषा केन्द्रीय विभागको संयोजनमा । 

नेवारहरू काठमाडौँमा मात्रै सीमित छैनन्, विश्वभरि छरिएर रहेका छन्, विश्वमा उनीहरूका विभिन्न सङ्घ–संस्था पनि छन्, यही अवस्थालाई मध्यनजर गर्दै र सबै नेवा सङ्घ–संस्थालाई समेट्न विश्व नेवा सङ्गठन जन्मेको थियो । सबै नेवारहरू एकत्रित भएर आफ्नो संस्कृतिको स्मरण गरून् भन्ने उद्देश्यले नै हरेक वर्ष अङ्ग्रेजी महिना मार्चको अन्तिम शनिबार विश्व नेवा दिवस मनाउन थालिएको हो ।  

नेपालमा जातीय, भाषिक र सांस्कृतिक विभेद विद्यमान छ । राज्यले पनि सोही आधारमा विभेद व्यवहार गरिरहेको हामी पाउँछौँ । त्यसो हुँदा विभिन्न जाति तथा समुदाय राज्यको मूलधारदेखि पछाडि परेको यथार्थ विद्यमान छ । सबै जाति तथा समुदायका भाषा, कला र संस्कृतिलाई राज्यले समान दृष्टिले हेर्नैपर्छ भन्ने माग नेवार समुदायले राख्दै आएको छ । 

विश्वभरि छरिएर रहेका नेवारहरू एकत्रित भएर आफ्नो संस्कृतिको स्मरण गरून् भन्ने उद्देश्यले नै हरेक वर्ष अङ्ग्रेजी महिना मार्चको अन्तिम शनिबार विश्व नेवा दिवस मनाउन थालिएको हो ।

विश्वभरि छरिएर रहेका नेवार समुदायबिच आफ्नो भाषा–संस्कृतिको जर्गेना तथा प्रवद्र्धनका लागि सचेतना जागरण गर्न र नेपालमा राज्यबाट भइरहेको विभेदको अन्त्यको आवाज बुलन्द पार्नका लागि पनि विश्व नेवा सङ्गठनको स्थापना भएको हो । नेवार समुदायले कुनै न कुनै रूपमा आफ्नो पहिचानको गौरव महसुस गर्ने दिनका रूपमा विश्व नेवा दिवस मनाउन आह्वान गरिएको हो । 

जहाँ रहे पनि नेवार समुदायले आफ्नो भाषा–संस्कृति नभुलून्, त्यसको प्रवद्र्धनमा लागिरहून् भन्ने नै विश्व नेवा दिवसको उद्देश्य हो । यस दिन विदेश वा स्वदेशमै बसेका नेवार समुदायले आफ्नो संस्कृति र संस्कार अनुरूपका क्रियाकलाप गरून् भन्ने हेतुले यो दिवस मनाउन थालिएको हो । 

सुरुमा यो दिवस केही देशमा रहेका नेवार समुदायले मात्रै मनाएका थिए । आजसम्म अर्थात् सातौँ नेवा दिवससम्म आइपुग्दा भने नेवारहरू पुगेको सबै देशमा यो दिवसलाई कुनै न कुनै ढङ्गले मनाउन थालिएको छ । प्राप्त जानकारी अनुसार यसपालि २० वटा जति देशमा नेवा दिवस मनाइँदै छ । नेवार समुदायका धेरै सदस्य रहेको देश अमेरिका हो । त्यहाँ रहेका थुप्रै नेवार सङ्गठनहरूले यसपालि यो दिवसलाई विभिन्न कार्यक्रम राखेर मनाउँदै छन् । न्युजिल्यान्ड, अस्ट्रेलिया, बेलायत, क्यानडा, नेदरल्यान्ड, जर्मन लगायत देशमा भव्य रूपमा यो दिवस मनाउन थालिएको छ । 

नेपालको कुरा गर्दा— विश्व नेवा सङ्गठनको नेपाल शाखाले पोहोर साल प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा वसन्तपुरमा एक सार्वजनिक कार्यक्रम गरी नेवा दिवस मनाएको थियो । यसपालि ललितपुरको पाटन दरबार म्युजियममा यो दिवस मनाइँदै छ । त्यहाँ विश्व नेवा सङ्गठन केन्द्रको आयोजनामा नेवा कविता वाचन गरिनेछ । यस्तै, विश्व नेवा सङ्गठन, बेलायत शाखाले नेवार हस्तलिखित साम्रग्री संरक्षण परियोजना थालनी गर्दै छ । 

यस्तै, देशभित्रकै अन्य ठाउँ र देशबाहिरका अन्य ठाउँ जहाँ नेवारहरू छन् भने उनीहरूको सङ्गठन भए वा नभए पनि उनीहरूले आ–आफ्नै तरिकाले यस दिवसलाई मनाउन थालेको पाइएको छ । कतिपयले वक्तव्य निकालेर, कतिपयले कुनै सांस्कृतिक कार्यक्रम वा भेला गरेर वा कतिपयले आ–आफ्नै घरमा नेवा परिकार खाएर यो दिवस मनाउन थालेको पाइन्छ । विश्व नेवा दिवसलाई अझ व्यापक गर्दै लैजान विश्व नेवा सङ्गठनले आह्वान गरेको छ । 

(हाल नेदरल्यान्डमा रहेका विश्व नेवा सङ्गठनका संस्थापक अध्यक्ष डा. श्रेष्ठसँग फेसबुक मेसेन्जरमा गरिएको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बालगोपाल श्रेष्ठ
डा. बालगोपाल श्रेष्ठ

सांस्कृतिक मानवशास्त्री

लेखकबाट थप