सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किसुनजी स्मृति हाफ म्याराथनमा विजय र पुष्पा पहिलो

शनिबार, १७ चैत २०८०, १४ : ४१
शनिबार, १७ चैत २०८०

काठमाडौँ । विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् ।

विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३ औँ सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयमा दोस्रो तथा हङकङमा भएको तेस्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेस्रो भए ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् । दोस्रो भएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेस्रो बनिन् । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

रुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोस्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेस्रो भए । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत पहिलो भइन् । २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोस्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेस्रो भए । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।

सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनीतहरुलाई पत्र पनि हस्तान्तरण गरिएको थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाल कांग्रेसका उप सभापति समेत रहेका पूर्व मन्त्री धनराज गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्ता तथा राजु ताम्राकार, दीपक थापा, तुलसी थापा र जग्जीत केसीलाई सदस्यमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरिएको थियो । सुदिप डंगोललाई नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, भक्तपुर जिल्ला समितिको अध्यक्षमा मनोनयन गरिएको पत्र पनि प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप