बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेतान्याहु सरकारविरुद्ध हजारौँ इजरायली किन उत्रिए सडकमा ?

सोमबार, १९ चैत २०८०, १५ : २३
सोमबार, १९ चैत २०८०

जेरुसेलम । इजरायलको गहिरो राजनीतिक विभाजन फेरि जनतामाझ छरप्रष्ट भएको छ । हजारौँ इजरायली सरकार विरोधी प्रदर्शनमा फेरि सडकमा उत्रिएका छन् । 

अक्टोबर ७ मा हमासको हमलापछि सारा इजरायल स्तब्ध भयो । त्यसपछि जनतामा एकखाले एकता देखिएको थियो । तर ६ महिनापछि बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध एकपटक फेरि ठुलो प्रदर्शन भइरहेको छ ।

जेरुसेलममा हजारौँ प्रदर्शनकारीहरूले आइतबार राति सहरको सबैभन्दा ठुलो उत्तर–दक्षिण राजमार्ग अवरुद्ध गरे । यस क्रममा सुरक्षा बलले प्रदर्शनकारीमाथि पानीको फोहोराबाट दुर्गन्धित पानी छोडेको थियो । प्रदर्शनकारीहरूले नेतान्याहुलाई तत्काल राजीनामा दिनुपर्ने र चुनाव गराउन माग गरेका छन् । गाजामा बन्धक बनाइएका १३० इजरायलीको रिहाइको लागि जतिसक्दो चाँडो सम्झौता गरिनुपर्ने माग पनि धेरैले गरेका छन् । युद्ध सम्झौता नभई यसैगरी लम्बिइरह्यो भने धेरै बन्धक मारिने बन्धकका परिवारका सदस्य र साथीभाइलाई भय छ ।

सन् २०२३ मा इजरायलमा यस्ता प्रदर्शनहरू भए कि सरकार नै हल्लियो । यसपटक पनि आन्दोलन गर्ने समूहले देशको संसदबाहिर जम्मा हुन जनतालाई अपिल गरेका छन् । गाजामा भएको युद्धलाई लिएर नेतान्याहु सरकारको व्यापक आलोचना भइरहेको छ । गाजामा जारी युद्धमा हालसम्म ६०० इजरायली सैनिक मारिसकेका छन् । 

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २०० इजरायली मारिएका थिए भने २५० जनालाई बन्धक बनाइएको थियो । त्यसयता इजरायली आक्रमणमा ३२ हजार मानिस मारिएका छन् भने ७५ हजार घाइते भएका छन् । यो आँकडा हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप