शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

मङ्गलबार, २० चैत २०८०, १३ : ०४
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारी स्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन महत्त्वपूर्ण रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गर्यो । 

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्नहुन समय तालिकालगायतका विषयमा जानकारी लिएको थियो । आयोजनाका तर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानूनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा २÷३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन सक्ने बताए । ‘अहिले चालू रहेको मर्स्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र न्, जसबाट करिब ८०÷८० मेगावाटमात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौँ ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथान्ने हुँदा काठमाडौंबाट हेटौँडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । 

‘त्रिशूली करिडोरबाट माथिल्लो त्रिशूली ३ ए, रसुवागढी, साञ्जेनलगायतका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ आउँछ, मार्कीचोक–नयाँ भरतपुर प्रसारणाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौँडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ, नत्र विद्युत्कतै प्रवाह गर्न नसकी ह्यागिङ हुने अवस्था आउने देखिएको छ ।’ 

घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्त्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

आयोजना अन्तर्गत लमजुङको उदपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वनक्षेत्रको जग्गाप्रयोग र रुख कटानका लागि स्वीकृति दिएको थियो । 

वनक्षेत्रको जग्गाप्रयोग गरेबापत सोही बराबरको जग्गा उपलब्ध गराउनु पर्ने वन नियमावली, २०७९मा भएको व्यवस्था बमोजिम योजनाले गत १३ फागुनमा निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो । नियमावलीमा भएको व्यवस्थाबमोजिम सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजनास्थल नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएको र समान भौगोलिक परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भू–बनोट भएको निजीजग्गा बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो । तर, जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताए । 

अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जग्गा प्राप्ति सहजीकरण समितिले जग्गा प्राप्त नभएको सिफारिस वनतथा भू–संरक्षण विभागमा गरिदिनु पर्नेछ । त्यसपछि आयोजनले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत तोकिएको रकम वन विकास कोषमाजम्मा गरेपछि मात्र विभागसँग सम्झौता हुने छ । त्यसपछिमात्र वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको प्रक्रिया अगाडि बढ्ने छ । प्राधिकरणको टोलीले जग्गा प्राप्ति सहजीकरणको बैठक तत्काल राखी विभागमा सिफारिस गरिदिन आग्रह गरेको हो । 

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटाटावर निर्माण गर्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । ५ वटाटावर खडा गरिएको छ ।

मस्र्याङदी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनहरुको निर्माण हुँदैछन् । चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ । लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । 

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि स्र्याङ्दीकरिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह र्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ । तेस्रो प्याकेज अन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन् । 

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप