मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली पत्रकारलाई चीनमा अन्तर्राष्ट्रिय सम्मान

मङ्गलबार, २० चैत २०८०, १४ : ३६
मङ्गलबार, २० चैत २०८०

चीन । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।  चिनियाँ अनुवादक संघले पत्रकार आचार्यलाई ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ बाट सम्मानित गरेको हो । 

तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा कार्यरत आचार्य एक दशकदेखि चीनमा पत्रकारिता गर्दैछन् । चिनियाँ मिडिया ग्रुप‘सीएमजी’ अन्तर्गतको रेडियो सेवा अन्तर्गत नेपाली सेवामा कार्यरत आचार्यले सातवटा कृति प्रकाशित गरेका छन् । चीन यात्राका अनुभवमा आधारित चार र आख्यान र गैरआख्यान गरी उनका अन्य तीन पुस्तक प्रकाशित भएको छ ।

चिनियाँ समाज र चिनियाँ सव्यताका बारेमा नेपाली सञ्चारमाध्यममा समेत लेख रचना लेख्ने पत्रकार आचार्यले बेइजिङ डायरी स्तम्भ लेख्दै आएका छन् । आचार्यका ‘मेरा आँखामा चीन’ र २०७४ मा ‘चीन चियाउँदा’ पुस्तकमार्फत चीनका बारेमा विभिन्न विषयमा आलेखहरू लेखेका छन् । 

त्यसैगरी २०७८ मा ‘रुइबा’ उपन्यास मार्फत एक जना नेपाली महिलाले चीनको जेलमा पुगेको सत्य घटनामा आधारित भएर लेखिएको उपन्यासमा नेपाली र चिनियाँ संस्कृतिका विविध पक्षका बारेमा लेखेका छन् । ‘रुइवा’ उपन्यासले २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

WeChat Image_20240402151844

पत्रकार आचार्यको पछिल्लो कृति ‘नयाँ युगमा चीन’ २०८० वैशाखमा प्रकाशित भएको थियो । चीनको राजनीतिक, आर्थिक, कृषि र विकासका कथा लेखिएको कृतिमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनबाट पारित प्रतिवेदनलाई नेपाली अनुवाद गरेर राखिएको छ ।

पुस्तकमा चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक यात्रा, र कम्युनिस्ट पार्टीको एक सय वर्षको इतिहास, र चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटीभ( बीआरआई) र चीनले गरिबी हटाउनका लागि चालेका कदमका बारेमा उल्लेख गरिएको छ । 

पत्रकार आचार्यले चीनका महत्त्वपूर्ण दस्तावेज र चिनियाँ समाज, संस्कृतिका बारेमा नेपाली भाषामा अनुवाद गरेकाले चिनियाँ अनुवादक संघले उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान प्रदान गरेको जनाएको छ ।

चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्शामा आयोजित समारोहमा गत १७ चैतका दिन विशेष समारोहबिच आचार्यलाई सम्मान गरिएको हो । नेपालबाहेक जापान, जर्मनी, स्पेन, अल्जेरियालगायका देशका विज्ञहरूलाई सम्मान गरिएको समारोहमा नेपालबाट सम्मानित हुने आचार्य पहिलो नेपाली भएको जानकारी गराइएको थियो ।

पत्रकारिता बाहेक साहित्यमा कथा लेखनमा सक्रिय आचार्य चीनमा पाएको सम्मानबाट आफू निकै उत्साहित भएको बताए ।  लेखन, अनुवादका कार्यमा रुचि र निरन्तर मेहनतको कदर गर्दै सम्मान गरेकोमा आफूलाई निकै खुसी लागेको आचार्यले रातोपाटीलाई बताए । उनले भने, चीनले दिएको सम्मानले मलाई अझै लेखन र अनुवादको काममा उत्साह थपिदिएको छ । आचार्यले भने, चिनियाँ समाजको बारेमा अझै केही नयाँ लेखनको कार्य सुरु गर्नेछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप