शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन

राष्ट्रिय सभा उपाध्यक्षमा गठबन्धनभित्रै एमाले र एकीकृत समाजवादीको दाबी

बुधबार, २१ चैत २०८०, २० : ३८
बुधबार, २१ चैत २०८०

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बुधबार राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशनसमेत दिएका छन् ।

यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो । यद्यपि सत्ता गठबन्धनले उम्मेदवारको विषयमा टुङ्गो लगाएको छैन ।

प्रदेश सरकारमा भागबण्डा, उपनिर्वाचन, राष्ट्रिय सभा उपाध्यक्ष कसले पाउने भन्ने विषयमा प्याकेजमै छलफल भए पनि सहमति नजुटेको नेताहरूले बताएका छन् ।

राष्ट्रिय सभा अध्यक्षमा फागुन २९ गते माओवादीबाट नारायणप्रसाद दाहाल निर्वाचित भइसकेका छन् । उपाध्यक्षका लागि गठबन्धनबाट एमाले र एकीकृत समाजवादीको दाबी छ । प्रदेश भागबण्डा, संघ र प्रदेशमा हुने निर्वाचनका लागि उम्मेदवार साझा उम्मेदवार छनोट लगायत विषयमा प्याकेजमै छलफल भइरहेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

‘प्याकेजमै हल गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । राष्ट्रिय सभा उपाध्यक्षमा स्वाभाविक रूपमा दाबी रहन्छ । कसले पाउने भन्नेमा सहमति भएको छैन’, पाण्डेले भने ।

यता एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले उपाध्यक्ष पदमा एमालेको दाबी स्वाभाविक भएको बताए । यद्यपि पार्टीले यस विषयमा कुनै निर्णय नगरेको उनले जानकारी दिए ।

‘उपाध्यक्षमा एमालेको दाबी स्वाभाविक रहन्छ । उम्मेदवारको मनोनयन दर्ता हुने बेलासम्म एउटा निष्कर्षमा पुगिएला । यस विषयमा पार्टीले अहिले कुनै निर्णय गरेको छैन’, गौतमले भने ।

Rajendra-Gautam

सत्ता समीकरण फेरिएपछि फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो । तर गठबन्धनमा एकीकृत समाजवादी पार्टीसमेत जोडिएपछि २९ गते बालुवाटारमा भएको ७ बुँदे सहमतिमा सो बुँदा हटाइएको थियो । सहमतिको उक्त बुँदा हटाइएपछि उपाध्यक्ष कुन दलले पाउने भन्नेमा गठबन्धन दलहरू निष्कर्षमा पुगेका छैनन् ।

अहिले गठबन्धनमै रहेका दलमध्ये प्रतिनिधि सभाका सभामुख एमालेबाट बनेका छन् । उपसभामुख रास्वपाले पाएको छ । राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाएको छ । रास्वपाको राष्ट्रिय सभा सदस्य नरहेकाले उसले उपाध्यक्षमा दाबी गर्न सक्दैन । तीन सिट रहेको जसपाले पनि उपाध्यक्षमा दाबी गरेको छैन । विपक्षी कांग्रेसले पनि उम्मेदवार बनाउने विषयमा निर्णय गरेको छैन । 

राष्ट्रिय सभामा गठबन्धनबाट माओवादीको अध्यक्षसहित १८, एमालेको १०, एकीकृत समाजवादीको ८, जसपाको ३ र मनोनीत एक गरी जम्मा ४० सिट छ । विपक्षमा कांग्रेसको १६, लोसपा र राष्ट्रिय जनमोर्चाको एक÷एक गरी जम्मा १८ सांसद छन् । ५९ सदस्यीय रहेको राष्ट्रिय सभामा एक जना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप