मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सरकार जोगाउन कसरत गर्दै लुम्बिनीका मुख्यमन्त्री

केन्द्रको सत्ता गठबन्धनलाई लुम्बिनीमा बहुमत जुटाउन कठिन
बिहीबार, २२ चैत २०८०, ०६ : १४
बिहीबार, २२ चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आफ्नो नेतृत्वको सरकार जोगाउन अन्तिम कसरत गरिरहेका छन् । उनले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारीसँगै साना दलको समर्थन जुटाउने कसरत गरिरहेका हुन् ।

अर्कोतिर नेकपा एमाले, माओवादी केन्द्रसहितको केन्द्रीय सत्ता गठबन्धनले लुम्बिनीमा आफ्नो पक्षमा बहुमत जुटाउन पहल गरिरहेको छ । मुख्यमन्त्रीले दिउँसो ४ बजे प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची छ । योसँगै केन्द्रीय सत्ता गठबन्धनले विश्वासको मत विफल बनाउन सक्रियता बढाएको हो ।

लुम्बिनी प्रदेश माओवादी संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो पक्षमा बहुमत जुटाउन हस्ताक्षर सङ्कलन अभियान थालेका छन् । उनले भने, ‘अहिले हामी छलफलमै छौँ । हामी आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर सङ्कलन पनि गर्छौं ।’

मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने महराको दाबी छ । विश्वासको मत लिन नसकी चौधरी नेतृत्वको सरकार ढलेपछि आफूहरूले बहुमतका साथ सरकारका लागि दाबी पेस गर्ने उनको भनाइ छ ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहीबार नै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने दाबी गरे । उनले भने, ‘यो सरकार बिहीबार ढल्छ, त्यसपछि तुरुन्तै अर्को सरकार बनाउने गरी हामी छलफलमा छौँ ।’

केन्द्रीय सत्ता गठबन्धनमा माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा रहे पनि लुम्बिनी प्रदेशको हकमा जसपाको भूमिका प्रस्ट भइसकेको छैन । जसपा अहिले पनि चौधरी नेतृत्वको सरकारमा रहेकाले ठोस निर्णय गरिसकेको छैन ।

जसपाबाट कृषि मन्त्रीसमेत बनेका भण्डारीलाल अहिरले केन्द्रबाट अझैसम्म प्रस्ट निर्णय नआएको रातोपाटीलाई बताए । उनले भने, ‘हामीलाई जे निर्देशन आउँछ, त्यही गर्ने हो । तर अहिलेसम्म दुवैतिर सामान्य छलफल चलेको छ । त्यो स्वाभाविक पनि हो ।’

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमसेनाले मुख्यमन्त्रीले विश्वासको मतका लागि जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग निरन्तर सम्पर्क गरिरहेको जानकारी दिए ।

८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । नयाँ गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ सांसद छन् । नयाँ गठबन्धन एकजुट भए पनि बहुमतका लागि थप एक सांसद आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ति पार्टीकी सचेतक नरमाया ढकालले विश्वासको मतका सम्बन्धमा निर्णय लिन बिहीबार बिहान आफ्नो पार्टीको बैठक बस्ने जानकारी दिइन् ।

स्वतन्त्र सांसद खड्क बस्नेतले अङ्कगणितको आधारमा निर्णय गर्ने रातोपाटीलाई बताए । उनले आफू तटस्थ बस्न पनि सक्ने बताए ।

राप्रपा प्रतिपक्षमा बस्ने 
लुम्बिनी प्रदेशमा राप्रपाको ४ जना सांसद रहेकोमा कपिलवस्तुका जानकी लाल यादवलाई अख्तियारले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । बाँकी ३ जना संसादलाई केन्द्रीय सत्ता गठबन्धन र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेको कांग्रेसले आफ्नो पक्षमा पार्न कसरत गरिरहेकाे छ ।

तर केन्द्रीय निर्णय अनुसार आफूहरू विपक्षमै बस्ने राप्रपा संसदीय दलका नेता आशिष चौधरीले रातोपाटीलाई बताए । बरु निर्णायक अवस्थामा कांग्रेस नेतृत्वकै वर्तमान सरकारलाई समर्थन जनाउन सक्ने रणनीति राप्रपाले बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप