बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा ५ हजारभन्दा बढी मानिस निरन्तर ध्यानमा

गिनिज बुकमा नाम लेखाउने योजना
बिहीबार, २२ चैत २०८०, १० : ३४
बिहीबार, २२ चैत २०८०

बुटवल । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी लुम्बिनीमा आयोजित विराट चक्र विज्ञान तथा ध्यानमा छन् । आफ्नो दैनिक काम छाडेर केही साथीसहित लुम्बिनीमा ध्यान गर्ने र गुरुहरूको प्रवचन सुन्दा आफूलाई थप उत्साह र ऊर्जा मिलेको भण्डारी बताउँछन् । उनले शारीरिक रूपमा हुने ऊर्जाहरूलाई थप परिचालन गर्न ध्यानले थप मद्दत पुग्ने रातोपाटीलाई बताए । 

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सभापति सुरेश आचार्य पनि लुम्बिनीमै छन् । आफ्नो व्यस्त दैनिकी छाडेर एक हप्ताको लागि उनी ध्यानका लागि लुम्बिनी आएका हुन् ।

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा शनिबारदेखि सुरु भएको विराट चक्र विज्ञान तथा ध्यान २३ सम्म चल्ने छ । ध्यानमा सहभागी हुँदा शारीरिक र मानसिक रूपमा ऊर्जा मिलेको आचार्य बताउँछन् ।

बुटवलका उद्योगी शङ्कर टन्डन पनि श्रीमती, छोरी, ज्वाइँसहित ध्यानमा सहभागी छन् । दैनिक व्यापार–व्यवसायमै व्यस्त रहँदै आएका उनी सबै कुरा बिर्सिएर ध्यानमा बस्दा र गुरुका वाणीहरू सुन्दा आनन्द महसुस भएको बताउँछन् । ५ दिनदेखि ध्यानमा सहभागी उनले यसबाट जीवन र जगत् बुझ्न पाएको प्रस्ट पारे ।

लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यान कक्षमा पाँच दिनदेखि एकसाथ ५ हजार ३ सय जना लगातार ध्यान गरिरहेका छन् । २३ गतेसम्म चल्ने ध्यानमा बस्न देशका विभिन्न ठाउँबाट फरकफरक पेसा र उमेर समूहका व्यक्ति आएका छन् ।

जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्मा, अर्का संस्थापक गुरु रमेश नेपालले ध्यान तथा प्रवचन गराएका छन् । 

व्यक्तिभित्र नैसर्गिक रूपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञानको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गर्न यस्तो कार्यक्रम गरिएको जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले बताए ।

किन आयोजना गरियो ?

जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्माले योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए । नेपाल सुरुमा सशस्त्र द्वन्द्व, त्यसपछि भूकम्प अनि फेरि कोभिडको मारमा पर्दा त्यसको असरले नेपालीहरूलाई कुनै न कुनै रूपमा दुःख दिएको उनको भनाइ छ ।

तर जहाँ समस्या हुन्छ, त्यसलाई मानिसले अवसरको रूपमा पनि लिन सक्ने भन्दै उनले त्यसलागि मानिसभित्र केही परिवर्तन गर्न सक्नुपर्ने बताए । यो सात दिनको विभिन्न चरण पार गरेर मानिस यहाँबाट निस्कँदा फेरि केही गरौँ भन्ने जोसका साथ निस्कने उनको दाबी छ ।

अर्का संस्थापक रमेश नेपालले विभिन्न समस्याका कारण मानसिक स्वास्थ्यमा असर परिरहेको भन्दै त्यसको निदान स्वरूप आफूहरूले ध्यानसँगै चक्र विज्ञान सुरु गरेको बताए ।

भगवान् गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात् तिमी आफ्नो प्रकाश आफैँ बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन लुम्बिनीमा कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

विश्व शान्तिका अग्रदूत भगवान् गौतमबद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रूपमा विश्वमाझ फैलाएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्य स्थल बनाउन सहयोग पुग्ने संस्थापक नेपालको दाबी छ ।

ध्यानमा सहभागीमध्ये २० प्रतिशत वहालवाला एवं पूर्व सरकारी कर्मचारी र सोही हाराहारीमा राजनीतिक दलका नेता एवं कार्यकर्ता रहेको उनले खुलाए ।

जीवन विज्ञान प्रतिष्ठान लुम्बिनीका संयोजक केशव खनालले यस कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने उल्लेख गरे । यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियामा आयोजना भएको र त्यहाँ एक हजार ४७१ जना उपस्थित भई ३ दिनसम्म ध्यानमा बसेको उनको भनाइ छ ।

उनले यति लामो र धेरै मानिस जम्मा गरेर पहिलो पटक कार्यक्रम भएकाले गिनिज बुकमा नाम लेखाउने प्रक्रिया सुरु गरिने प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप