मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्यकालको नुहाइरहेको फोटो अपलोड गरेपछि गुगलले गरिदियो खाता ब्लक

सोमबार, २६ चैत २०८०, १४ : १२
सोमबार, २६ चैत २०८०

नयाँ  दिल्ली । साना बालबालिकाहरूलाई नुहाइदिइरहेको बेलामा फोटो खिच्नु नौलो कुरा होइन । बाल्यकालको स्मृतिलाई जोगाएर राख्न बेलाबेलामा यस्ता फोटो खिच्ने गरिन्छ । तर बच्चा बेलामा नुहाइरहेको तस्बिर अपलोड गरेपछि एक जना भारतीय इन्जिनियरको  एकाउन्ट गुगलले बन्द गरिदिएको छ । यो घटना अहमदाबादको हो । त्यहाँका २६ वर्षीय निल शुक्ला यतिबेला यस्तै फोटोका कारण गुगल विरुद्ध गुजरात उच्च अदालतमा पुगेका छन् । आफूलाई सानोमा हजुरआमाले नुहाइदिने गरेको अनि यो कुराले गुगललाई किन आपत्ति भएको उनको प्रश्न छ ।

निलले आफ्नी हजुरआमाले नुहाइदिएको तस्बिर गुगल एकाउन्टमा सेभ गरेर राख्न अपलोड गरेका थिए । यति मात्रै होइन उनलाई गुगलबाट इमेलमा भएको उनका निजी जानकारीहरू मेटाइदिएको भन्दै एउटा म्यासेज पनि आएको थियो ।  खाता डिलिट नगर्नभन्दै उनले गुगललाई एउटा पत्र नै लेखेका थिए । यसपछि उनले गुजरात सरकारको आईटी विभाग, प्रहरीको साइबर क्राइम विभागलाई पनि उजुरी  दिए  । तर पनि समस्या समाधान नभएपछि उनले गुजरात उच्च अदालतमा  मुद्दा दायर गरे ।

गुगलले भने बाल यौन शोषण सामग्री सम्बन्धी कम्पनीको सीएसएएम नीति तथा कार्यक्रमलाई उद्धृत गरेको छ । बच्चाहरू भएका कुनै पनि सीएसएएम वा यौन सामाग्रीलाई तुरुन्तै हटायदिने र खाता पनि हटाउन सकिने कम्पनीको भनाई छ । तर यो मामिला देखे जति सरल छैन । यसलाई निलका पिताले गोपनीयताको अधिकारको उल्लंघन भनेका छन् । भारतीय संस्कृतिमा हजुरआमाले नातीलाई नुहाइदिनु पोर्नोग्राफी नहुने उनको भनाइ छ ।

निलले सन् २०२३ मा आफ्नो खाता नमेटिदिन गुगललाई पत्र पठाएका थिए । तर कम्पनीले यसको कुनै जवाफ दिएन । यही अप्रिल २ मा गुजरात उच्च अदालतमा यस मामिलाबारे भएको सुनवाइमा पनि गुगलका कुनै पनि वकिल उपस्थित थिएनन् । निलको खाता अप्रिल ५ मा स्थायी रूपमै हटाइने बताइएको थियो । उनलाई एकाउन्टमा भएको डेटा झिक्ने अवसर समेत नदिएको बताइएको छ । गुगलले खाता हटाइसकेको हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन । उच्च अदालतले अर्को आदेश नआउँदासम्मका लागि खाता डिलिट गर्न रोक लगाएको छ । यस मामिलामा अर्को सुनवाइ अप्रिल ३० मा हुँदै छ ।

निलले सन् २०१३ देखि गुगल खाता चलाउँदै आएका थिए । यसमा उनको व्यवसाय सञ्चालन, बचत र लगानीसम्बन्धी सबै डेटा थियो ।

के भन्छ गुगल ?

यो मामिला उच्च अदालतमा भएकोले आफूले केही बोल्न नसक्ने गुगलले बताएको छ । कम्पनीले आफ्नो कुनै पनि प्लेटफर्ममा बाल यौन शोषणका सामाग्रीहरू शेयर गर्नबाट रोक्ने बताएको छ । बच्चाहरू संलग्न रहेका सीएसएएम वा यौन सामग्री भेटिएपछि यसलाई आफूहरूले तुरुन्तै हटाइदिने अनि खाता पनि बन्द गरिदिने उनले बताए । कम्पनीले सीएसएएम नीति अनुसार विशिष्ट प्रविधिको विकास गरेको छ । यसले सीएसएएमको परिभाषा भित्र पर्ने कुनै पनि सामाग्री तुरुन्तै चिनेर हटाइदिन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप