सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बाँकेस्थित जनक शिक्षाको छापाखाना प्रयोगविहीन

बुधबार, २८ चैत २०८०, १० : ३२
बुधबार, २८ चैत २०८०

बुटवल । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको छापाखाना प्रयोगमा आउन नसकेको हो ।

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रविन्द्र शर्माले बजेट अभावमा छापाखाना चलाउन सक्ने अवस्था नभएको रातोपाटीलाई बताए ।

सरकारले तत्कालीन समयमा एक करोड रुपैयाँको लागतमा छापाखाना भवन निर्माण गरेको थियो । त्यसपछि थप दुई करोड रुपैयाँको लागतमा थप दुई वटा गोदाम भवन निर्माण गरिएको छ ।

छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन कहिले कोभिड अस्पताल त कहिले प्रहरीको बासस्थान बन्ने गरेको छ । छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ भने लामो समय थन्किएका कारण मेसिनमा खिया लाग्न थालेको कर्मचारी बताउँछन् ।

books

प्रेस अपरेटर सहित ३६ जनाको दरबन्दी रहे पनि अहिले छापाखानामा ८ जना कर्मचारी  छन् । छापाखाना सञ्चालन नभए पनि गोदाम भने अहिले प्रयोगमा छ । केन्द्रको भक्तपुरस्थित छापाखानामा छापिएका पाठ्यपुस्तक नै गोदाममा ल्याएर बाँके, बर्दिया, दाङ, सल्यान, प्युठान, पूर्वी रुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा वितरण गर्दै आएको कार्यालय प्रमुख होमराज ढुङ्गेलले रातोपाटीलाई बताए ।

केन्द्रका सूचना अधिकारी शर्माले छापाखानामा फोर कलर मेसिन र पर्खाल निर्माणलगायत पूर्वाधार पूरा गर्न करिब १० करोड रुपैयाँ आवश्यक रहेको बताए । सरकारले उक्त बजेट दिए तुरुन्तै छापाखाना चलाउन सकिने  उनको भनाइ छ ।

फोर–कलर मेसिन खरिद गरेर खजुरामै छपाइ गर्न सकिएको खण्डमा छिटो, छरितो रूपमा पाठ्यपुस्तक उपलब्ध गराउनुका साथै ढुवानी खर्च पनि कम लाग्ने शर्माको जिकिर छ ।

सरकारले हाल कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक निजी छापाखानाबाट छाप्दै आएको छ भने ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छाप्दै आएको छ ।

केन्द्रले खजुराबाट पुस्तक छाप्दा लाखौँ रुपैयाँ बचत हुने जनक शिक्षा कर्मचारी युनियनका अध्यक्ष जनकराज भारतीले बताए । उनले छापाखाना सञ्चालन गराउन कर्मचारीहरूको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

नेपाल पुस्तक व्यावसायी महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव श्रीसमगरले जनक शिक्षाले बाँकेमा छापाखाना चलाउन व्यवसायीले पटक पटक सरकारलाई ध्यानाकर्षण गराएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप