मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बालिका मृत्यु प्रकरण : कलिलो उमेरमै परिवारको सबै जिम्मेवारी बोकेकी थिइन् नविनाले

पाँच लाख क्षतिपूर्ति दिने सहमति
सोमबार, ०३ वैशाख २०८१, १७ : ३१
सोमबार, ०३ वैशाख २०८१

सुर्खेत । विद्युत् प्राधिकरणको गम्भीर लापरबाहीका कारण आइतबार दिउँसो जुम्लाको सिञ्जा गाउँपालिका–३, छान्निगाडाकी १३ वर्षीय बालिका नविना गिरीको मृत्यु भयो । घरभन्दा केही पर बाटोमा बाख्रा चराउन गएकी उनको करेन्ट लागेर मृत्यु भएको थियो ।

निर्माणाधीन नेपाल टेलिकमको टावरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको तार लैजाने क्रममा बाटोमै लत्रिएको अवस्थामा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेपछि उद्धारमा गएका ७१ वर्षीय हरिकृष्ण गिरी पनि घाइते भए । उनको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घरको हेरचाहदेखि सबै जिम्मेवारी नविनाको काँधमा थियो । उनका दुई भाइ छन् । उनीहरू सानै छन् । नविनाका बुबा नमराज गिरी बोल्न सक्दैनन् । आमा नन्दादेवी गिरी पनि बिरामी छिन् ।

घरका गाईबाख्रा पालनदेखि गिट्टी कुटेर परिवारको गुजारा चलाउँथिन् नवीनाले ।

उक्त वडाका वडाध्यक्ष तीर्थ वडका अनुसार नविनाका बुबा–आमाको अवस्था निकै दयनीय छ । ‘आर्थिक हिसाबले पनि बिहान–बेलुका के खाउँ, के लाउँ भन्ने स्थिति छ । निकै कमजोर परिवार हो,’ उनले भने, ‘एकमात्र सहारा भनेको नविना थिइन् । उनको पनि ज्यान गएपछि परिवारमा ठुलो सङ्कट आएको छ ।’

वडाध्यक्ष वड प्राधिकरणको लापरबाहीले नविनाको ज्यान गएको बताउँछन् । ‘प्राधिकरणले लाइन विस्तार गर्दा क्लियर रुपमा गरेको भए यो अवस्था आउँथेन,’ उनले भने, ‘अलपत्र तारले नै नविनाको ज्यान गयो ।’

अहिले उक्त ठाउँमा विद्युत् प्राधिकरण, गाउँपालिकाका जनप्रतिनिधिहरू पुगेका छन् । सुरुमा परिवार तथा आफन्तले शव उठाउन मानेका थिएनन् ।

तर, प्राधिकरण, पालिका र आफन्तहरूबिच चार बुँदे सहमतिसहित नवीनाको शव पोस्टमार्टमका लागि सदरमुकाम लगिएको वडाध्यक्ष वडले बताए ।

‘उहाँहरु बिच के सहमति भयो, त्यो हामीलाई थाहा हुँदैन, अहिले शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेका छौँ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दले भने, ‘करेन्ट लागेर मृत्यु भएको हो । अब पोष्टमार्टम होला ।’

सहमति अनुसार विद्युत् प्राधिकरणले क्षतिपूर्ति वापत् पाँच लाख रकम दिने भनेको छ । परिवारको अवस्था नाजुक भएकाले उचित क्षतिपूर्ति दिन दबाब दिएपछि प्राधिकरण उक्त रकम दिन सहमत भएको हो ।

विद्युत् प्राधिकरण जुम्लाका प्रमुख राम आशिष साह क्षतिपूर्तिका लागि अहिले फाइल उठाइ प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाइने बताउँछन् ।

साथै पोष्टमार्टम गर्नेदेखि सबै व्यवस्थापन प्राधिकरणले गर्ने उनले बताए । पीडित परिवारलाई किरिया खर्च १५ हजार प्राधिकरणले र २५ हजार गाउँपालिकाले दिने गरी कुरा भएको गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले रातोपाटीलाई बताए ।

प्राधिकरणले घाइते गिरीको पनि उपचार खर्च बेहोर्ने भएको छ । यस्तै नविनाका बुबालाई उनको अवस्था अनुसारको रोजगारीको व्यवस्थापनका लागि पहल गर्ने पनि सहमति भएको बताइएको छ । यद्यपि प्राधिकरणका प्रमुख साह भने रोजगारीको ग्यारेन्टी प्राधिकरणले गर्न नसक्ने बताउँछन् ।

विद्युत् विस्तार गर्दा कतै यस्ता खालका समस्या नआउनेगरी लाइन सुचारु गर्ने सहमति भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप