मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

१३ सय ३६ मिटर धागोले सजिँदै पाटन सम्पदा क्षेत्र

बुधबार, ०५ वैशाख २०८१, २० : २६
बुधबार, ०५ वैशाख २०८१

 काठमाडौँ । ललितपुरस्थित पाटन दरबार क्षेत्र १३ सय ३६ मिटर  मिटर डोरीले सजिने भएको छ । बिहीबार विश्व सम्पदा दिवसका अवसरमा कलाकार मनिषलाल श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटन दरबार क्षेत्रमा प्रस्तुत गर्न लागेका हुन् । 

समुदाय कला अन्तर्गत ‘हेरिटेज वाक’ मा आफ्नो कलालाई समावेश गर्न लागेको श्रेष्ठले सुनाए । ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेख पाटनढोकाबाट कार्यक्रम सुरु हुने श्रेष्ठले बताए । उनको ‘प्रोजेक्ट १३३६’ कला २०१७ मा नै तयार भएको हो । 

यसभन्दा अघि देश तथा विदेशमा श्रेष्ठले यो कला प्रदर्शन गरिसकेका छन् । काठमाडौँमै माइतीघर, बबरमहलस्थित नेपाल आर्ट काउन्सिल, बौद्धस्थित तारागाउँ म्युजियम र बौद्ध सम्पदा क्षेत्रमा समेत कला प्रदर्शन भइसकेका छन् । उनको कलाले विशेषतः काठमाडौँलाई सम्बोधन गरेको छ । 

‘समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको श्रेष्ठले सुनाए । उनका अनुसार लामो विविध रङ्गको धागोले काठमाडौँको बहुल समाज, संस्कृति, जाति र समुदायलाई प्रतिनिधित्व गर्छ । 

डोरीकै माध्यममा विविधता एकता र मानवताको अर्थ खोतल्ने प्रयास गरिएको उनले बताए । उनले भने, ‘काठमाडौँमा एक किसिमको एकता पाइन्छ । हामी नचिनेको मानिसहरू एकै ठाउँमा मिलेर बसेका छौँ । हामी एक अर्कामा जोडिएका छौँ भन्ने कुरा मेरो कलाले बताउँछ ।’ 

चीनको बेइजिङमा समेत उनले पहाडजस्तो माथिबाट लामो डोरीका रूपमा झारेर यो कला प्रदर्शन गरेका थिए । त्यहाँका कलाप्रेमीले समेत कलालाई निकै चाख मानेर अवलोकन गरेको उनले सुनाए । 

ललितपुर क्षेत्रभित्रको मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन र प्रचारका लागि कला प्रदर्शनी गरिएको ललितपुर वाणिज्य संघका कार्यकारी सदस्य तथा पर्यटन संस्कृति तथा सम्पदा संयोजक महेश्वरलाल खाेंसीले सुनाए । ‘हेरिटेज वाक’ मा ललितपुर महानगरपालिका, संघ लगायतका संस्थाले सहकार्य गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप