बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी गाडीमा माओवादीका प्रदेशसभा सदस्यको मुस्ताङ सयर

बिहीबार, ०६ वैशाख २०८१, १० : २२
बिहीबार, ०६ वैशाख २०८१

हेटौँडा । बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्य सरकारी सवारी साधन लिएर मुस्ताङ भ्रमणमा पुगेका छन् । माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सदस्य २ वटा सरकारी सवारी साधन लिएर गण्डकी प्रदेशको मुस्ताङ भ्रमणमा पुगेका हुन् ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको कमान्डमा उनीहरू मुस्ताङ भ्रमणमा पुगेका हुन् । वैशाख ३ गतेदेखि काठमाडौँबाट पोखरा हुँदै मुस्ताङ पुगेका मोक्तानको टोलीमा प्रदेशसभा सदस्यहरू सुस्पा भुजेल, उर्मिला तामाङ, अमृता नेपाल, रुकु चौलागाई र भुवन केशरी श्रेष्ठ रहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाको बागमती प्रदेश ०१–००१ झ ००११ नम्बरको टोयटाको प्राडो र सामाजिक विकास मन्त्रालयको बागमती प्रदेश ०१–००२ झ ६६५१ नम्बरको टाटाको स्करपियो गाडी लिएर उनीहरू मुस्ताङ पुगेका हुन् । प्राडो गाडी हेटौँडा रहँदा मुख्यमन्त्री जम्कट्टेलले प्रयोग गर्ने गरेका थिए । स्करपियो भने सामाजिक विकास मन्त्री मोक्तानले प्रयोग गर्ने सवारी हो । मन्त्री मोक्तानले प्रयोग गर्दै आएको उक्त स्करपियोको झन्डा र नम्बर प्लेट परिवर्तन गरेर सरकारी नम्बर प्लेट प्रयोग गरिएको छ ।

वैशाख ४ गते जोमसोम बसेका उनीहरू ५ गते भने अपर मुस्ताङ पुगेको र त्यहाँबाट फर्किएर मुक्तिनाथ दर्शन गर्ने योजनामा सो क्षेत्रमा बास बसेका बसेर वैशाख ६ गते बिहान मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनीहरू पोखरा हुँदै काठमाडौँ आउने कार्यक्रम रहेको छ ।

FB_IMG_1713359223373

त्यसो त माओवादी केन्द्रकी प्रदेशसभा सदस्य राधिका तामाङ भने मन्त्री मोक्तानको सो भ्रमणमा सामेल भइनन् । मन्त्रीकै नेतृत्वमा सरकारी सवारी साधनको दुरुपयोग हुने गरी उनीहरू मुस्ताङ भ्रमणमा पुगेका हुन् । सो विषयमा न मुख्यमन्त्रीको सचिवालयमा जानकारी रहेको छ भने न नै सामाजिक विकास मन्त्रालयलाई जानकारी गराइएको छ । 

मुख्यमन्त्रीको सचिवालयका अनुसार अन्तर प्रदेश वा सरकारको तर्फबाट भ्रमण सम्बन्धी कार्यक्रम नरहेको तथा कार्यालयको सवारी साधन प्रयोग तथा खर्चका विषयमा जानकारी छैन । भ्रमण आदेश, व्यवस्थापन र सवारी साधनको प्रयोगका विषयमा स्वयम् मुख्यमन्त्रीले नै निर्णय गरेको हुन सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी चन्द्र बहादुर श्रेष्ठले ६६५१ नम्बरको गाडी मन्त्रीले प्रयोग गर्दै आएको र भ्रमणका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । मन्त्रीले नै व्यवस्थापन गरेर भ्रमणमा गएको हुन सक्ने उनले बताए । 

उनका अनुसार मन्त्रालयमा अन्तर प्रदेश भ्रमणको कार्यक्रम छैन । मुख्यमन्त्री कार्यालयबाट प्राप्त हुने सेवा सुविधाबाट नै प्रयोग गर्ने गरी प्रदेशसभा सदस्यहरू भ्रमणमा निस्किएको हुन सक्ने उनको भनाइ छ । भ्रमण खर्चका सन्दर्भमा मन्त्रालयमा ठोस योजनाहरू नरहेको उनले प्रस्ट पारे ।

FB_IMG_1713359206835

प्रदेशसभा सदस्य सुस्पा भुजेलले अनौपचारिक रूपमा भ्रमण कार्यक्रम तय भएको बताइन् । आन्तरिक रूपमा व्यवस्थापन गर्ने गरी मन्त्रीसँग भ्रमण कार्यक्रम तयार गरिएको उनले बताइन् । 

आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र समय सदुपयोग गर्ने गरी भ्रमण कार्यक्रम तयार गरिएको उनको भनाइ छ । भ्रमणमा सरकारी सवारी प्रयोग गर्नु नौलो विषय नभएको र मन्त्री नै भ्रमणमा रहेकाले सामान्य रूपमा हेर्नुपर्ने उनले बताइन् । ठुलो ठुलो दुरुपयोगको घटना हेर्दा सरकारी साधन प्रयोग गर्नु आश्चर्य नभएको उनको तर्क थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप