शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी

शनिबार, ०८ वैशाख २०८१, ०६ : ५२
शनिबार, ०८ वैशाख २०८१

मुम्बई । अभिनेता आदिल हुसैन फिल्म ‘कबीर सिंह’ को बारेमा आफ्नो टिप्पणीका कारण चर्चामा छन् । आदिलले एक पोडकास्टमा आफूलाई फिल्म कस्तो थियो भन्ने अन्दाजै नभएको बताए । त्यसपछि उनले २० मिनेटभन्दा बढी फिल्म हेर्न सकेनन् ।  अभिनेताले यो फिल्म गरेर आफू पछुताएको पनि बताए ।

अब अभिनेताको टिप्पणीमा चलचित्रका निर्देशक सन्दीप रेड्डी वांगाले प्रतिक्रिया जनाएका छन् । निर्देशक वांगाले सन् २०१९ मा कबिर सिंह बनाएका थिए । यसमा शाहिद कपुर र कियारा आडवाणी मुख्य भूमिकामा थिए । फिल्ममा विषाक्त सम्बन्ध, कुरूपता र विषाक्त पुरुषत्व देखाएकोमा निर्देशकले निकै आलोचनाको सामना गर्नुपरेको थियो ।

आदिलले ‘कबीर सिंह’ मा शाहिद कपूरको प्रोफेसरको भूमिका निभाएका थिए । आदिलको कुरा सुनेपछि वांगाले उनको निन्दा गरेका छन् । आफ्नो ट्वीटमा वांगाले आदिलको सम्पूर्ण करियरमाथि प्रश्न उठाएका छन् ।

निर्देशक वांगाले आफ्नो ट्विटमा लेखेका छन्, ‘तिम्रो ‘भरोसा’ को ३० आर्ट फिल्मले तिमीलाई त्यति प्रसिद्धि दिन सकेन जति तिम्रो ‘पछुतो’ को एउटा ब्लकबस्टर फिल्मले दियो । म पनि तिमीलाई कास्ट गरेर पछुतो मानिरहेको छु । तिम्रो जोश भन्दा लोभ ठुलो छ भन्ने थाहा पाउँदा पछुतो लागिरहेको छ । अब तिमीलाई लाजबाट बचाउनको लागि म एआईको मद्दतले तिम्रो अनुहार बदल्नेछु। ल अब  मुस्काऊ।’

के भनेका थिए आदिल हुसेनले ?

ए.पी. पोडकास्ट युट्युब च्यानलमा कुरा गर्दै आदिल हुसैनले 'कबीर सिंह' एक 'नारीद्वेषी' फिल्म भएको बताएका थिए जसले आफूलाई मानिसको रूपमा सानो महसुस गराएको थियो। निर्देशक सन्दीप रेड्डी वांगाको बारेमा कुरा गर्दै आदिलले सबैलाई आफ्नो मनपर्ने फिल्म बनाउने अधिकार रहेको बताए । तर यसको अर्थ अरु त्यो फिल्ममा सहमत हुनेछन् भन्ने होइन ।

अभिनेताले भने, ‘मलाई लाग्छ यो यस्तो चलचित्र हो जसले समाजका लागि फाइदाजनक नहुने कुरामा खुसीयाली मनाउँछ । यसले नारीद्वेषलाई सही ठहराउँछ । यसले महिला मात्र होइन जो कोहीमाथि हुने हिंसालाई जायज बताउँछ । र त्यसको महिमा गाउँछ जबकि यो गर्नुहुँदैन।’ 

आफ्नी श्रीमतीले यो फिल्म हेरिन् भने के भन्छिन् होला भन्ने सोचेर आफू डराएको पनि आदिलले बताए । उनले भने, ‘यदि उनले यो देखिन् भने उनी धेरै रिसाउनेछन्।’

आदिल हुसेनका अनुसार उनले स्क्रिप्ट नपढेरै फिल्म गर्न राजी भएका थिए । उनले भने, 'मेरो जीवनको यही एक मात्र फिल्म हो जसमा मैले स्क्रिप्ट पढेको थिइनँ, जसमा आधारित भएर बनाएको फिल्म पनि हेरेको थिइनँ ।’ 

‘कबिर सिंह’ रिलिजपछि आफू थिएटरमा हेर्न गएको तर २० मिनेटमै बाहिर आएको पनि आदिलले सुनाए । आदिलले भने, ‘आज पनि पछुताउँछु । मलाई पछुतो लाग्ने एउटा मात्र फिल्म हो... कबीर सिंह।’

उनले भने, ‘दृश्य राम्रो थियो त्यसैले फिल्म पनि राम्रो हुन्छ भन्ने लागेको थियो । त्यही भएर म फिल्म हेर्न गएँ । तर मलाई लाग्यो, म यहाँ के गर्दैछु? तपाईंलाई थाहा छैन म कति लज्जित भएँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप