शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
दस्तावेज

तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन

शनिबार, ०८ वैशाख २०८१, १८ : ४३
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अघि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण व्यवहारिक र लाभदायी नहुने निष्कर्ष निकालेका छन् । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी मोर्चामार्फत वामपन्थी एकताको गृहकार्यमा लागेका वेला सत्ता साझेदार दलको नेतृत्व गरेको एमालेले भने तत्काल वामपन्थी एकता सम्भव नहुने निष्कर्ष निकालेको हो ।

ललितपुरको गोदावरीमा शनिबारबाट सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा कुनै दल, विचार वा शक्तिलाई निषेध गरेर गरिने वामपन्थी एकता नटिक्ने बताएका हुन् । 

उनले विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक रहेको भन्दै गहिरो सहकार्य र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलिका दिनमा विचार मिल्नेहरू क्रमशः एक ठाउँ हुने निष्कर्ष निकालेका छन् ।

‘त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण उचित,व्यवहारिक र लाभदायी हुँदैन’, अध्यक्ष ओलीले भनेका छन्, ‘सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जानेछन् ।’ 

‘राजनीतिक शक्ति सन्तुलन र पार्टीहरू बिचको सम्बन्ध’, उपशीर्षकमा ओलीको प्रतिवेदनमा भनिएको छ, ‘आजका दिनमा भने सबै सकारात्मक शक्तिहरूलाई साथ लिएर अगाडि बढ्नु बढी महत्त्वपूर्ण छ ।’ 

उनले अहिलेको सत्ता समीकरण निश्चित राजनीतिक विचारधाराले भन्दा पनि आवश्यकताले भएको र दिशानिर्देश गरिरहेको बताएका छन् ।

अध्यक्ष ओलीले अहिलेको सत्ता सहकार्यका बारेमा पनि आफ्नो दस्ताबेजमा चर्चा गरेका छन् । उनले अहिलेको सत्ता सहकार्य मुलुकका समस्या समाधानका लागि भएको दाबी गरेका छन् । ‘सत्ता परिवर्तन सत्ता प्राप्तिका लागि मात्रै होइन । यो राष्ट्रियतालाई बलियो बनाउने र राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने, लोकतन्त्रको रक्षा र विकास गर्ने, विकास र समृद्धिको यात्रालाई गति दिने तथा जनतामा आशा र भरोसा जगाउने साझा सङ्कल्पका साथ भएको समीकरण हो’, ओलीको दाबी छ ।

उनले अहिलेको सत्ता समीकरण निश्चित राजनीतिक विचारधाराले भन्दा पनि आवश्यकताले भएको र दिशानिर्देश गरिरहेको बताएका छन् ।

उनले मुलुकमा गम्भीर समस्याहरू रहेको र  तिनको समाधानका लागि सबै राजनीतिक पार्टीहरू माझ निरन्तर संवाद आवश्यक भएकोमा जोड दिएका छन् । ‘मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ’, ओलीले भनेका छन् ।

मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका का राष्ट्रिय एजेण्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्ष लगायत सबैसँग सार्थक संवाद गर्ने एमालेको नीति हुने ओलीले बताएका छन् । साथै उनले नेपाली कांग्रेस अचानक सत्ताबाट बाहिरिन पर्दा आक्रोशित, क्षुब्ध र हताश देखिएको टिप्पणी गरेका छन् । 

‘यही हताशाले उसलाई प्रतिशोधको राजनीतिमा पुर्‍याएको छ’, ओलीले फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन कांग्रेसले हरसम्भव प्रयास गरेको छ’, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

यही प्रयास सफल पार्न कांग्रेसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गरेको दाबी गरे पनि उसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा सामेल भएको बताएका छन् । 

‘ती दलहरू नयाँ समीकरणमा संलग्न हुनासाथ ऊ यति बेला हताश मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोध बाहेक कुनै तर्कसङ्गत आधार छैनन्’, ओलीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप