सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’

‘सधैँ समीकरण र सधैँ गठबन्धनले देश चल्दैन’
बुधबार, १२ वैशाख २०८१, १७ : २८
बुधबार, १२ वैशाख २०८१

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् ।  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज चुलाचुली २ स्थित स्वामीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

ओलीले आफ्नो दलको तर्फबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङलाई मत माग्दै जातीय कुरा नगर्न कार्यकर्तालाई आग्रह गरे । 

‘पहिचान विरोधी कोही होइन । एमालेले जति दलित, मुस्लिम, जनजातिको मुद्दा कसैले उठाएको छैन । तर, जातीय आधारमा होइन । बिना भेदभाव, योग्यता, क्षमताको आधारमा मूल्यांकन गरेर साथीहरू माथि पुगेका छन् । त्यसकारण सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा जुटौं,’ ओलीले थप भने, ‘जातका कुरा मनमा नराख्नुहोस् । कसैले जातका कुरा गर्‍यो भने त्यो जातीय कुराले हार्ने मात्रै हो । यो देशमा कुनै पनि जातको कहिँ पनि बहुमत छैन । कोही पनि मानव जातको विरुद्ध जातीय सङ्कीर्णताको कुरा गर्नु राम्रो हुँदैन ।’

जनतालाई दिने सेवा सुविधा र जिम्मेवारी बोक्ने उम्मेदवार सुहाङ बाहेक कोही नभएको भन्दै उनले यस निर्वाचनमा कसैले पनि गल्ती गर्नु नहुने बताए । 

उनले सुवास नेम्वाङले दिएको योगदान नबिर्सन आग्रह गर्दै रिस उठ्यो भन्दै जेपनि भन्नु नहुने बताए । राजनीतिमा सही भन्न सक्नुपर्ने भन्दै त्यसमा सुवास नेम्वाङ सधैँ अगाडि रहेको उनले दाबी गरे ।

 ‘ज्ञान, क्षमताको हिसाबले सुवास नेम्वाङ गुरु पनि हुन् । उहाँको असामयिक निधन भएपछि उहाँको क्षेत्रमा उहाँकै सुयोग्य छोरालाई उम्मेदवार बनाएको मर्मलाई बुझेर अलमलमा नपरी, भ्रममा नपरी मतदान गर्न आग्रह गर्दछु,’ ओलीले भने । ओलीले एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा विप्लवका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलाई धन्यवाद दिए ।

ओलीले अर्को प्रसङ्गमा गठबन्धन र समीकरणले देश सधैँ चल्न नसक्ने बताए । ‘सधैँ समीकरण र सधैँ गठबन्धनले देश चल्दैन,’ उनले भने, ‘मिसन ८४ भनेको निर्णायक राजनीतिक राष्ट्रिय शक्तिको रूपमा हामी बन्नुपर्छ । अनेक प्रकारको जोड घटाउ गरेर, मिलजुल गरेर, बहुमत पुर्‍याएर देश चल्दैन ।’ 

अहिले समीकरण बनाउनु परेको कुराको अर्थ दिँदै ओलीले भने, ‘अहिले देश ओरालो लागेको लाग्यै भयो । गत वर्ष रोक्न खोज्यौँ । फेरि भत्कियो । अहिले फेरि रोक्न खोजेका छौँ । देशलाई बचाउन खोजेका हौँ ।’ 

उनले आफ्नो नेतृत्वको सरकार हुँदा ३ प्रतिशत मानिस गरिबीबाट मुक्त भएको दाबी गर्दै आफूले सत्ता छोड्ने बित्तिकै ३ प्रतिशत गरिबी पुनः बढेको बताए । इलाम–२ उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप