आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकालाई स्वच्छ, सफा, सुन्दर हराभरा बनाउन राष्ट्रपतिको आग्रह

सोमबार, २४ वैशाख २०८१, २० : १९
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाउन आग्रह गरेका छन् । उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरूसँग शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई आग्रह गरेका हुन् ।   

उनले जल्दोवल्दो समस्याका रूपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुने बताएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

उनले वायु प्रदूषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गरे । 

राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा वृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रूपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्यताका रूपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिए । 

उनले उपत्यकाको फोहोर मैला व्यवस्थापनमा केही सुधार आएको तर अहिलेको व्यवस्थापन दिगो होइन यसको दीर्घकालीन र स्थायी समाधान खोज्नुपर्ने सुझाव दिए । फोहोर सुरुबाट वर्गीकरण गरी प्रविधिको प्रयोगसहित वैज्ञानिकरुपले समाधानको विकल्प खोज्नुपर्ने धारणा पनि उनले व्यक्त गरे । 

राष्ट्रपति पौडेलले वातावरणमैत्री स्थानीय शासनको प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे । 

सो अवसरमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले सामूहिक सोच र सहकार्यका साथ साझा समस्या समाधानमा अघि बढ्ने धारणा व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप