सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्य नीतिमा हरिवनको प्रयास

सोमबार, १४ जेठ २०८१, ०९ : ३९
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रूपमा सम्मानित भएको छ । नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रूपमा सम्मानित हो । 

नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ । भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख बुढाथोकीले बताए ।

पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपालिकाको बिच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानी दृष्टिले अनुकूल नै मानिन्छ । हरिवन नगरपालिको जनसङ्ख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्याङ्क छ । नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै मतदाताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव सङ्कलन गर्दैआएको छ ।

सोही क्रममा नगरपालिकाले चिकित्सक, महिला स्वयंसेविका, महिला सङ्गठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्गठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरेको छ । पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पुर्‍याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी नीति नगर परिषद्बाट पारित गरी लागू गर्ने योजना बनाएको छ ।

मुलुकमा सङ्घीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र विषयवस्तु समेटिन सक्छ भन्ने पालिका प्रमुखको ध्येय छ । हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरू समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ । नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पुर्‍याइरहेका छन् ।

आफ्नो जन्मथलो र कर्म थलो सम्झिएर उहाँहरूले सामान्य सहयोगले पनि हरिवनको विकास र सामाजिक परिवर्तनमा ठुलो फड्को हुने नगर प्रमुख बुढाथोकी बताउँछन् । राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई पूर्ण कार्यान्वयन गर्न पालिकाले समयमै खरिद गरी ती सबै थरी औषधिको पर्याप्त जोह गरेको छ ।

नगरपालिकाले आफ्नो कार्य जिम्मेवारीको क्षेत्रभित्र विभिन्न रोगसँग सम्बन्धित १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत बिरामीलाई परीक्षण गर्ने व्यवस्था गर्दै आएको छ । नगरपालिकाले गुणस्तरीय ल्याब सेवा, भिडियो एक्सरे, महिलाको पाठेघरको क्यान्सर परीक्षण र सेक्ने उपकरणसमेतको व्यवस्था गरेको छ । पालिकास्तरको १५ श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा छ । डटस् कार्यक्रममार्फत मुलुकभर क्षयरोगको व्यवस्थित र प्रभावकारी उपचार गर्ने पालिकाका रूपमा हरिवन  सम्मानित भइसकेको छ । 

पालिकाले गत वर्ष मानसिक स्थास्थ्य परीक्षण सम्बन्धित तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यस पटक यही जेठ १८, १९ र २० गते बृहत् स्वास्थ्य शिविर गर्ने तयारी छ । मनोविद् पद्मप्रसाद घिमिरे भन्छन्, “स्वास्थ्य भनेको उपचार मात्र नभई वातावरण र परिस्थितिसँग पनि जोडिन्छ, प्रभावकारी उपचारका लागि गुणस्तरीय औषधि, विश्वासिलो चिकित्सा सेवा र गुणस्तरीय औषधि सम्बन्धित विषयसमेत पर्छ ।”

  मुलुकमा बेरोजगारीका कारण लागु औषध प्रयोगकर्ता युवाको सङ्ख्या बढेकाले त्यसबाट उनीहरूलाई  मुक्त गराउने  र पुनर्स्थापना गर्ने कार्यमा पालिकाले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले उनीहरूलाई सुबाटोमा हिँडाउन युवालाई लक्षित गरी सृजनशील परामर्श र तालिम प्रदान गरिनुपर्ने आवश्यकता औँल्याए ।

पालिकाले मानसिक रोगको उपचारमा संलग्न केही नर्सलाई थप तालिमका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाएको छ । क्यान्सरलगायतका दीर्घ रोगीलाई विभिन्न स्वास्थ्य संस्थामार्फत घरमै पुगेर उपचार गराउन पालिकाले कोसिस गरिरहेको छ । नगरपालिका–८ का वडाध्यक्ष प्रज्ज्वल ढुङ्गानाले सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासनको नारालाई पनि सँगै कार्यान्वयनमा जोड दिँदै आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप