बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

‘दान्भी’को ट्रेलरमा पूजाको दमदार एक्सन

बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । आगामी असार ७ गतेदेखि रिलिज हुने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा अभिनेत्री पूजा शर्माको दमदार एक्सनले स्थान पाएको छ ।  

नवनायक कुन्साङ बोमजोमसँग पूजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा कुन्साङको हत्यापछि उनको हत्याको बदला लिन पूजालाई एक्सन रूपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । 

कार्यक्रममा अभिनेत्री शर्माले एक्सन सिक्वेन्सको तस्बिर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको उनको धारणा रहेको छ । 

नवनायक कुन्साङले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताए । अर्का नायक किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपर्युक्त फिल्म भएको दाबी गरे ।

फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठले पूजाको टाइमिङ र उनको मेहनतले ‘दान्भी’मा एक्सन गर्न सजिलो भएको बताए । निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताए ।

नेपाल र भारतका विभिन्न स्थानमा छायांकन भएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ । फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया